काठमाडौं । कटारी नगरपालिकाको सिफारिसमा कटारी–१४ का कृषकहरूका लागि सरकारी अनुदानमा बिक्रीका लागि ल्याइएको रासायनिक मल सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ स्थित एक व्यापारीको गोदाममा फेला परेको छ ।
कटारी नगरपालिकाको सिफारिसमा कृषकसम्म अनुदानको मल पु¥याउने जिम्मा पाएको दुर्गा भवानी कृषि संस्थाले साल्ट ट्रेडिङ कर्पोरेसन लहानबाट प्रतिवोरा ८२२ रुपैयाँ ५० पैसाका दरले खरिद गरेको २१६ बोरा मल दुधौलीका व्यापारीको गोदाममा भेटिएको हो ।



कटारी क्षेत्रमा मलको अभाव चर्कँदै गएपछि तथा कालोबजारी भइरहेको आशंकामा किसान संघर्ष समिति कटारीका संयोजक गणेश थापाको नेतृत्वमा युवाहरू दुधौली पुग्दा उक्त मल गोदाममा फेला परेको समितिले जनाएको छ ।
संयोजक थापाका अनुसार नगरपालिकाको मल वितरण समिति, मल वितरण गर्ने संस्था र सम्बन्धित निकायहरूको मिलेमतोमै अनुदानको मल अन्यत्र बिक्री गरी कालोबजारी भइरहेको छ। “कटारीका किसान मल नपाएर समस्यामा छन्, तर उनीहरूका लागि आएको मल दुधौलीमा कालोबजारी भइरहेको भेटिनुले मिलेमतोको पुष्टि भएको छ,” थापाले बताए ।
व्यापारीको गोदाममा फेला परेको मल जनप्रतिनिधि र प्रहरी चौकी दुधौलीको रोहबरमा प्रहरीले नियन्त्रणमा लिएको छ । मल खरिद गरी गोदाममा राख्ने दुधौलीका व्यापारी र दुर्गा भवानी कृषि संस्थाका प्रतिनिधिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
अनुदानमा प्रतिवोरा ८२२.५० रुपैयाँमा ल्याइएको मल व्यापारीसँग मिलेमतो गरी प्रतिवोरा ३ हजार रुपैयाँसम्ममा बिक्री गर्ने, त्यसबाट आएको नाफामा सिफारिस दिने–लिने र निगरानी गर्ने निकायबीच मिलेमतो हुने गरेको हल्लालाई यस घटनाले पुष्टि गरेको संयोजक थापाको दाबी छ ।
विगत लामो समयदेखि मलको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने र किसानलाई महँगोमा मल किन्न बाध्य बनाउने घटनाहरू सार्वजनिक हुँदै आएपछि कटारीका किसानहरू संगठित भई आन्दोलनसमेत गर्दै आएका छन् । तर किसानले मल नपाएको अवस्थामा नगरपालिकाको सिफारिसमा आएको मल भने यसरी अन्यत्र व्यापारीलाई बिक्री गरिएको पाइएको छ ।



