सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि नेपालमा नयाँ पुस्ता, विशेषतः ‘जेनजी’ (Gen Z) भनिने युवाहरूले स्वतःस्फूर्त आन्दोलन सुरु गरेका छन्। ‘दी फाइनल रिभोलुसन – वी आर पञ्चिङ अप’ नाम दिइएको यो आन्दोलन अन्तर्गत ८ सेप्टेम्बरमा काठमाडौंको माइतीघर मण्डला, संसद भवन लगायत देशका विभिन्न शहरहरूमा प्रदर्शनको तयारी गरिएको छ। यस आन्दोलनको विशेषता भनेको यसको नेतृत्वविहीन तर संगठित रूपमा सामाजिक सञ्जालबाट सुरु हुनु हो। आन्दोलनमा कुनै राजनीतिक पार्टीको झण्डा छैन, कुनै नेताको अनुहार छैन, तर छ — आक्रोश, आवाज र परिवर्तनको माग।
आन्दोलनको पृष्ठभूमि



नेपाल सरकारले केही दिनअघि टिकटक लगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने तयारी गर्दै गरेको खबर सार्वजनिक भएपछि, त्यसको विरोधस्वरूप युवाहरू आक्रोशित भएका छन्।
साथै, पछिल्लो समय सामाजिक सञ्जालमा ‘नेपो बेबी ट्रेन्ड’ (Nepotism Baby Trend) व्यापक बनेको छ, जसमा नेताका छोराछोरीहरूकै विलासी जीवनशैली र सर्वसाधारण युवाहरूको संघर्षपूर्ण जीवनबीचको विरोधाभास उजागर गरिएको छ। उदाहरणका लागि, महँगा ब्रान्डका कपडादेखि विदेशी यात्रा, गाडी र विलासी जीवनशैलीमा रमाइरहेका नेताका सन्तानहरूलाई एकातिर राखिएको छ भने अर्कोतर्फ, सामान्य नेपाली युवाहरूको रोजगारीको खोजीमा विदेशिनु, शव बाकसमा फर्किनु र देशभित्रै संघर्षरत जीवनलाई देखाइएको छ।
आन्दोलन कसले सुरु गर्यो ?
यो आन्दोलन विशेष गरेर जेनजी पुस्ताका स्वतन्त्र व्यक्तिहरू — विद्यार्थी, स्टार्टअप उद्यमी, कलाकार, टेक्नोलोजी पेशाकर्मी, र सामाजिक अभियन्ताहरूले सुरु गरेका हुन्। यसमा फेसबुक समूहहरू (जस्तै MRR), रेडिट, टिकटक, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा हजारौं युवाहरूको सहभागिता देखिएको छ। ‘एउटा उद्देश्य छ – सत्ता र व्यवस्था विरुद्धको जनआवाज उठाउने,’ भन्छन् सामाजिक सञ्जाल प्रयोगकर्ता उनी भन्छन्, “यो दुई दिनको हल्ला होइन, यो पुस्ताले सरकारलाई जवाफ दिन थालेको संकेत हो।”
डिजिटलबाट सडकसम्म
यो आन्दोलनमा ‘डिजिटल उपस्थिति मात्रै हैन, भौतिक उपस्थिति अनिवार्य छ’ भन्ने सन्देश दिइएको छ। पठाओका सह-संस्थापक तथा सीईओ असिममान सिंहले पनि भिडिओमार्फत आन्दोलनमा सहभागी हुने जनाएका छन्। उनले भनेका छन्, “८४ सालसम्म कुर्ने होइन, परिवर्तनका लागि अब उठ्ने हो। म आफैं पनि सोमबार -८ सेप्टेम्बर) आन्दोलनमा उपस्थित हुनेछु।”
सामाजिक सञ्जालमा ‘#WakeUpGenZ, #NoMoreCorruption, #NepobabyExposed’ जस्ता ह्यासट्याग प्रयोग गरी आह्वान भइरहेको छ।
अन्तर्राष्ट्रिय प्रभाव : फिलिपिन्स र इन्डोनेसियाबाट प्रेरणा
यो जेनजी आन्दोलन केवल नेपालमै सीमित नभई फिलिपिन्स र इन्डोनेसियामा चलेका समान आन्दोलनबाट प्रभावित छ। त्यहाँ नेताका सन्तानहरूको भोगविलास सार्वजनिक गर्दै रेडिट र टिकटकमा व्यापक बहस चलेको थियो। फिलिपिन्समा, बाढी नियन्त्रणको नाममा भएको भ्रष्टाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘lifestyle check’ ट्रेन्ड चल्यो।
इन्डोनेसियामा, राष्ट्रपति जोकोवीका छोरालाई उपराष्ट्रपति पदमा अघि सार्दा ‘नेपो बेबी ट्रेन्ड’ चरममा पुग्यो। यही प्रभाव नेपालसम्म आइपुगेको धेरैको बुझाइ छ।
के-के नाराहरू छन् ?
“We are punching up!”
“Wake up Gen Z!”
“Enough is enough!”
“No more corruption!”
“Sambidhan hami le padheko thau samma khojda ni vetinna!” (व्यङ्ग्यत्मक पोस्ट)
“Digital freedom is our right!”
टिप्पणीहरू के भन्छन् ?
लेखक सरिता तिवारी लेख्छिन् – “भोलि काठमाडौंलगायत देशैभर भ्रष्टाचार विरुद्धको प्रदर्शन राजनीतिलाई कमाउ धन्दा बनाउने संस्कारलाई चुनौती दिने बनोस्।” समाजशास्त्री दीपेश घिमिरे भन्छन् – “जेनजीहरूले भ्रष्टाचार, असमानता र सत्ता संरचनाको आलोचना अत्यन्तै सिर्जनात्मक ढंगले गरिरहेका छन्। उनीहरूको अभिव्यक्तिमा क्रिएटिभिटी छ, तथ्य छ र जागरण पनि।”
पत्रकार तथा लेखक सुधीर शर्मा लेख्छन् – “नयाँ पुस्ताको यो आवाज भर्चुअलमा मात्रै सीमित हुँदैन, यो अब सडकमा पोखिन्छ। २०८४ सम्म धेरै कुरा परिवर्तन हुने संकेत यही हो।”
आन्दोलनको सम्भावित चुनौती
नेतृत्वको अभावका कारण ‘हाइज्याक’ हुने खतरा
सुरक्षाका दृष्टिले अव्यवस्थित भिड नियन्त्रणको चुनौती
राजनीतिक दलले समर्थन वा हस्तक्षेप गर्दा स्वतन्त्र चरित्र धमिलिन सक्ने
यद्यपि, अधिकांश सहभागीहरूले भने ‘कुनै राजनीतिक दललाई यो आन्दोलनको नेतृत्व गर्न दिनुहुँदैन’ भन्ने अडान लिएका छन्।
नेपालको राजनीतिक इतिहासमा पहिलोपटक जेनजी पुस्ता स्वतःस्फूर्त ढंगले सडकमै उत्रिन लागिरहेको देखिन्छ। सामाजिक सञ्जालको शक्ति, आक्रोश र निराशा मिलेर एउटा आन्दोलनको रूप लिइरहेको छ। यो आन्दोलन कति लामो जान्छ भन्ने प्रश्न समयसँगै स्पष्ट हुनेछ, तर यसले नयाँ पुस्ताको चेतना, शक्ति र सामाजिक उत्तरदायित्वप्रतिको समझलाई स्पष्ट रूपमा देखाएको छ।



