काठमाडौं । सुनसरीको धरानबाट प्रहरीले दुई वटा सवारी साधनसहित ठूलो परिमाणको गाँजा बरामद गरेको छ । मंगलबार बिहान गरिएको चेकिङ अभियानका क्रममा ९ सय ५५ केजी गाँजासहित दुई वटा सवारी साधन र दुई जना चालकलाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान उपमहानगरपालिका–२० स्थित बरडाँडा क्षेत्रमा विशेष चेकिङका क्रममा गाँजा फेला परेको हो । चाँदीबजारबाट विष्णुपादुकातर्फ जाँदै गरेका सवारी साधनलाई रोकी जाँच गर्दा लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त स्थान प्रहरी कार्यालयबाट करिब २५ किलोमिटर पश्चिम–उत्तर दिशामा पर्छ ।
प्रहरीले बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडी जाँच गर्दा ३३ पोका गाँजा बरामद गरेको जनाएको छ । बरामद गाँजाको तौल करिब ४ सय ९५ केजी रहेको छ । सो गाडीका चालक बारा जिल्ला, कोल्बी नगरपालिका–८ बस्ने ३३ वर्षीय सन्दिप कुमार माझीलाई नियन्त्रणमा लिइएको छ ।



त्यसैगरी ३२३६ नम्बरको अर्को गाडीबाट २३ पोका गाँजा बरामद गरिएको छ, जसको तौल करिब ४ सय ६० केजी रहेको प्रहरीले जनाएको छ । उक्त गाडीका चालक काठमाडौं जिल्ला, चन्द्रागिरि नगरपालिका वडा नं. ८ बस्ने ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले दुवै सवारी साधन, गाँजा र चालकहरूलाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बताए ।



