काठमाडौं । हाइभिजन महिला समूहले १ दिने खुशी विज्ञान कार्यक्रम संचालन गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ को सहयोगमा हाइभिजन महिला समूहले आयोजना गरेको कार्यक्रममा मानव जीवनमा बढ्दो तनाव, चिन्ता र असन्तुलित जीवनशैलीका बीच ‘खुशी विज्ञान’ सम्बन्धी तालिमले नयाँ आशा जगाएको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले जीवनलाई सकारात्मक र सन्तुलित बनाउन खुशी विज्ञान तालिमले महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । उहाँले खुशी कुनै बाह्य बस्तु नभई आन्तरिक अनुभूति भएकोले ध्यान, आत्मचिन्तन, सकारात्मक सोच, कृतज्ञता र भावनात्मक सन्तुलनजस्ता अभ्यासमार्फत मानिसले आफ्नो जीवनलाई अझ सहज र अर्थपूर्ण बनाउन सक्ने दाबी गर्नुभयो ।

यस्तै हाईभिजन समाजका अध्यक्ष ताराबहादुर केसीले आजको प्रतिस्पर्धात्मक र व्यस्त जीवनशैलीले धेरै मानिस मानसिक रूपमा थकित र असन्तुष्ट देखिने गरेकोले यस्तो अवस्थामा खुशी विज्ञान तालिमले मानिसलाई भित्री शान्ति प्राप्त गर्न, आत्मविश्वास बढाउन र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । केसीले सहभागीहरूले दैनिक जीवनमा आइपर्ने तनाव र समस्यालाई कसरी सम्हाल्ने, आफूलाई कसरी बुझ्ने र अरूसँगको सम्बन्धलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा व्यावहारिक ज्ञान हासिल गर्न सक्ने उल्लेख गर्नुभयो ।

साथै हाईभिजन महिला समूहका अध्यक्ष चित्रकला भट्टचनले यसअघि समूहले तनाव विर्सजन कार्यक्रम राखेको र अहिलेको खुशी विज्ञान कार्यक्रमले व्यक्ति मात्र नभई, समग्र समाजलाई नै सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास गर्नुभयो । उहाँले मानसिक रूपमा स्वस्थ, आत्मविश्वासी र सकारात्मक सोच भएका नागरिकले मात्र समृद्ध र सुदृढ समाज निर्माण गर्न सक्ने भएकाले यस्ता तालिमहरूको आवश्यकता पर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमका प्रशिक्षक सीता भण्डारीले खुशी विज्ञान तालिमले मानिसलाई केवल खुशी हुन सिकाउने मात्र नभई जीवनलाई गहिरो रूपमा बुझ्ने र सन्तुलित रूपमा जिउने कला प्रदान गर्ने भएकाले यसको महत्व बढ्दै गएको बताउनु भयो ।

महिला समूहले यस्ता किसिमको तालिम दिएर समाज र व्यक्तिहरुको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको भन्दै धन्यवाद दिनुभयो । कार्यक्रमका सहभागीहरुले खुशी ठूलो उपलब्धिमा मात्र नभई साना–साना क्षणहरूमा पनि पाउन सकिने कुरा यस तालिमले सिकाउने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय