काठमाडौं –  चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९।३ ओभरमा १४९ रनमा समेटिएपछि चितवनले रोमाञ्चक जित निकालेको हो। चितवनको जितमा बलर कमलसिंह ऐरी नायक बने। उनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। रिजन ढकालले पनि २ विकेट लिँदै विराटनगरको ब्याटिङ धराशायी बनाउन महत्त्वपूर्ण भूमिका खेले। रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले समान एक विकेट लिए।

जितका लागि अन्तिम ३ ओभरमा २१ रन आवश्यक रहेको अवस्थामा विराटनगर बलियो स्थितिमा देखिएको थियो। तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएपछि खेलको अवस्था बदलियो। उनले रुपेश सिंह र प्रतिश जिसीलाई खाता खोल्न नदिई पभेलियन फर्काए। त्यसपछि १९औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि विराटनगरको जितको सम्भावना समाप्त भयो। विराटनगरका लागि ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए। लोकेश बमले १४ बलमा २६ रनको योगदान दिए। यी दुईले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए।

आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन बनाए। उनले एन्जेलो म्याथ्युजसँग २४ बलमा ४३ रनको साझेदारी गरेका थिए। म्याथ्युजले १४ रन बनाए। चरिथ असलंका ८, बसिर अहमद १३ र शुभम रञ्जाने १० रनमा आउट भए। सन्दीप लामिछाने भने खाता नखोली पभेलियन फर्किए। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो।

चितवनका ओपनर डाविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५१ बलमा उक्त रन बनाउने क्रममा टोलीलाई बलियो सुरुआत दिलाए। मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए। देव १५ बलमा १२ रन बनाएर आउट भए। विकेटकिपर ब्याटर अर्जुन साउदले ९ बलमा ३ रन मात्रै बनाउन सके। उनलाई ११औं ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजले कप्तान सन्दीप लामिछानेको हातबाट क्याचआउट गराएका थिए।

१३औं ओभरमा मलान आन्द्रे रसेलको बलमा आउट भएपछि रवि बोपारा र डान मोस्लीले चितवनको इनिङ्स सम्हाले। यी दुईले तेस्रो विकेटका लागि अविजित ६७ रनको साझेदारी गरे। रवि ३२ रन र डान २९ रनमा नटआउट रहे। यस जितसँगै चितवनले प्रतियोगितामा महत्त्वपूर्ण सफलता हात पारेको छ। एनपीएलअन्तर्गत आज हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय