काठमाडौं । चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानुनी कटघरामा ल्याउन प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकले घटनाप्रति समितिको ध्यानाकर्षण भएको जनाउँदै शीघ्र सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो । गृह मन्त्रालयले बालिका शालिन पोखरेलको मृत्युबारे छानविन भइरहेको जनाए पनि समितिका सभापति भानुभक्त जोशीले बैठकले सरकारलाई घटनाप्रति गम्भीर भई छानविन गरी सत्यतथ्य चाँडो भन्दा चाँडो बाहिर ल्याउन निर्देशन दिएको बताउनु भयो ।



१४ वर्षीया छात्रा शालिन रत्ननगरस्थित एकता शिशु निकेतन माविमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनी यही फागुन १२ गते विद्यालयको छात्रावासमा मृत भेटिएकी थिइन् ।



