काठमाडौं । साउन महिनाको अन्तिम मंगलबार गुरुङ समुदायले मौलिक पर्व ट्होटे मनाएका छन् । परापूर्व कालदेखि समाजमा रहेको भूत प्रेतलाई धपाउनका लागी गुरुङ समुदायहरुले यो पर्व मनाउँदै आएका छन् ।
ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, बाजाहरु डम्फा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायतका सामाग्रीहरू प्रदर्शन गरी झाकी निकाली धुप बालेर समाजमा रहेको भुतलाई धपाउने गर्दछन् । तमु धिं नेपाल पोखराले नयाँबजारमा रहेको आफ्नो कार्यालयबाट पुजाआजा गरि नयाँबजार, प्रदर्शनी केन्द्र हुँदै सेती नदीमा पुगेर विधि अनुसार धुँपबत्ती गरी भुत सेलाइएको थियो । ट्होटे पर्व वर्षको २ पटक मनाइने गरिन्छ । चैत्र महिनाको अन्तिम मंगलबार र साउन महिनाको अन्तिम मंगलबार उधौली र उभौलीको रूपमा यो पर्वलाई मनाउने गरिन्छ । गुरुङ समुदायका मानिसहरूले चैत्र महिनामा मनाउने ट्होटेलाई उभौली र साउनमा मनाउनेलाई उधौली पर्वको रूपमा मनाउने गर्दछन् ।



परापूर्व कालमा गाउँमा खेतीपाती राम्रो होस, वैरी शत्रु नाश होस भन्ने कामनासहित गाउँमा ट्होटे मनाउने गरिए तापनि हाल आफ्नो मौलिक भेषभुषा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउँदै आएको तमु धिं नेपालका अध्यक्ष हुम गुरुङले जानकारी दिनुभयो ।



