हाम्रा छोराछोरीको रगतले लतपतिएको यो धरती हेर, शासकहरू हो ! तिमीहरूले जुन ताण्डव मच्चायौ, जुन क्रूरता देखायौ, त्यसले नेपालको इतिहासमा एउटा कालो अध्याय थपेको छ। अब यो देश तिमीहरूको अपराधको साक्षी बनेको छ। बानेश्वरको सडकमा बगेको रगत र इटहरीको धूलोमा मिसिएको आँसुले सोधिरहेछ— आखिर हाम्रो अपराध के थियो ?



हामीले त केवल तिमीहरूले दशकौँदेखि गरेको कुशासनको हिसाब मागेका थियौँ। हामीले त केवल हाम्रो भविष्यमाथि भएको अन्यायको जवाफ खोजेका थियौँ। हामीले त तिम्रो शाही ठाँट र जनताको दयनीय जीवनस्तरबीचको खाडलमाथि प्रश्न उठाएका थियौँ। के यो गल्ती थियो ?
तिम्रा अमानवीय आदेशहरूमा गोली चलाउने तिम्रा प्रहरीहरूले एकपटक सोचेनन्, उनीहरूले गोली हानेका निर्दोषहरू भोलिका इन्जिनियर, डाक्टर र वैज्ञानिक थिए। तिनीहरूले गोली हानेको तिम्रो कुशासनको अन्त्य गर्न निस्केका सपनाहरूलाई थियो। तर, तिमीहरूले त्यसको बदलामा गोली दियौ।
प्रधानमन्त्री केपी ओली र सहयात्री शेरबहादुर देउवा, तिमीहरूले नैतिकताको सबै सीमा नाघेका छौ। गृहमन्त्री रमेश लेखकको राजीनामा तिमीहरूको अपराधको सानो स्वीकारोक्ति मात्र हो। यो नैतिकताको पराकाष्ठा होइन, यो त एउटा अपराधीले अर्को अपराधीलाई जोगाउन खेलेको नाटक हो। तिमीहरूले सोचेका छौ, एउटा मूल्यहीन राजीनामा दिएर तिमीहरू जनताको नजरबाट मुक्त हुनेछौ ? यो तिमीहरूको भ्रम मात्र हो।
जेन-जी पुस्तासँग माग्दै छौ, ०४६ सालपछिका ३६ वर्षको हिसाब। भ्रष्टाचारको हिसाब। नागरिकमाथिको अत्याचारको हिसाब। खेर गएका ती वर्षहरूको हिसाब। र, तिमीहरूले त्यसको जवाफ गोलीले दियौ। तिमीहरूले सोचेका थियौँ, अबोध केटाकेटीहरूलाई गोली हानेपछि उनीहरू डराएर घरभित्र लुक्नेछन् ? तिमीहरूलाई लाग्छ, तिमीहरूले जनताको आवाजलाई बन्द गर्न सक्छौ ?
यो देश तिमीहरूको बिर्ता होइन ! यो देश हामी जनताको हो। तिमीहरू अब सिंहासनमा बस्न लायक छैनौ। अब जनताको अदालतमा आत्मसमर्पण गर। तिमीहरू जति दिन यो सत्तामा टाँसिने ढिपी गर्छौ, तिमीहरूको अन्त्य त्यति नै क्रूर र अपमानजनक हुनेछ।
यो देश अब थप छोराछोरीको बलिदानीका लागि तयार छैन। ०८४ साल कुर्न अब यो देशलाई मन्जुर छैन। हामीलाई नागरिक सरकार चाहिएको छ, अपराधीहरूको गिरोह होइन।



