लमजुङको सुन्दरबजारस्थित एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ। विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र सेवा विस्तारसँगै अस्पतालप्रति नागरिकको विश्वास बढ्दै गएको हो। आर्थिक वर्ष २०८२/८३ मा मात्रै २१ हजारभन्दा बढीले अस्पतालको ओपीडी सेवा लिएका छन्। लमजुङको सुन्दरबजारस्थित एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा पछिल्लो समय उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ। स्पतालले विशेषज्ञ चिकित्सकको सेवा विस्तार गर्नुका साथै आधुनिक उपकरण थप्दै लगेपछि सेवाग्राहीको आकर्षण बढेको हो। अस्पतालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा २१ हजार १३७ जनाले बहिरङ्ग अर्थात् ओपीडी सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्ष १७ हजार ५१२ जनाले ओपीडी सेवा लिएकोमा यस वर्ष करिब २१ प्रतिशतले सेवा लिनेको संख्या बढेको हो।

यस अवधिमा २ हजार ९८७ जनाले आकस्मिक सेवा लिएका छन् भने ३ हजार ४९५ जनाले दन्त सेवा, १ हजार ९७४ जनाले फिजियोथेरापी र २ हजार ७७५ जनाले अल्ट्रासाउण्ड सेवा लिएका छन्।त्यस्तै, ३ हजार ७०६ जनाको एक्स–रे, ५९६ जनाको आँखा परीक्षण र ७११ जनाले मनोपरामर्श सेवा लिएका छन्। अस्पतालमा एक वर्षमा १ लाख ३६ हजार ११० वटा प्रयोगशाला परीक्षण तथा ३ हजार ४२२ वटा माइनर शल्यक्रिया सम्पन्न भएका छन्।

अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य सेवासमेत सञ्चालन गर्दै आएको छ। आर्थिक वर्षभर ६ हजार ९३६ जनाले निःशुल्क उपचार सेवा पाएका छन्।विभिन्न स्थानमा सञ्चालन गरिएका स्वास्थ्य शिविरबाट थप २ हजार ३३५ जना लाभान्वित भएका छन्। एनसीडी स्क्रिनिङ, विद्यालय स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य सचेतनामूलक गतिविधिमार्फत पनि ठूलो संख्यामा नागरिकलाई स्वास्थ्य सेवा तथा जानकारी प्रदान गरिएको अस्पतालले जनाएको छ। अस्पतालले पछिल्लो समय मुटुरोग पहिचानका लागि इको सेवा पनि सञ्चालनमा ल्याएको छ।

अस्पतालले आगामी दिनमा शल्यक्रिया तथा विशेषज्ञ सेवा विस्तार गर्ने, अत्याधुनिक उपकरण थप गर्ने र विपन्न नागरिकलाई निःशुल्क तथा सहुलियतपूर्ण उपचार उपलब्ध गराउने योजना अघि सारेको छ।सेवा विस्तार, विशेषज्ञ चिकित्सकको उपलब्धता र गुणस्तरीय उपचारका कारण एचडीसीएस–नमुना सामुदायिक अस्पताल लमजुङसँगै छिमेकी जिल्लाका नागरिकका लागि समेत भरपर्दो स्वास्थ्य सेवा केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय