काठमाडौं- राइड सेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकहरूले विभिन्न माग राख्दै प्रदर्शन गरेका छन्। बुधबार काठमाडौंको कुपण्डोलस्थित इन्ड्राइभको कार्यालयअगाडि भेला भएका चालकहरूले कमिसन बढी भएको र भाडा दर कम भएको भन्दै विरोध जनाएका हुन्।
प्रदर्शनमा सहभागी चालकहरूले हाल कायम कमिसन प्रणालीले आफूहरूलाई आर्थिक भार परेको बताएका छन्। उनीहरूले इन्धन, मर्मतसम्भार तथा दैनिक खर्च बढ्दै गएको अवस्थामा हालको भाडा दरले काम गर्न कठिन भएको गुनासो गरेका छन्।



चालकहरूले कम्पनीले कमिसन दर पुनरावलोकन गर्नुपर्ने, यात्रुले तिर्ने भाडा दरलाई समयअनुसार समायोजन गर्नुपर्ने र चालकको हितलाई ध्यानमा राखेर नीति बनाउनुपर्ने माग गरेका छन्।
इन्ड्राइभसँग आबद्ध चालकहरूको विरोधपछि कम्पनी र चालकबीच छलफलमार्फत समस्या समाधान गर्नुपर्ने मागसमेत उठेको छ।



