इलाममा दुईदिने आफ्नो वरिपरि चौथो संस्करणको ‘इलाम सहित्य महोत्सव’ सुरु भएको छ । साहित्यको माध्यमबाट इलामको पर्यटन प्रबद्र्धन संगै युवा पुस्तामा पठन संस्कृतिको बिकास गराउने उद्येश्यले महोत्सवको आयोजना गरीएको हो ।



हरियो भरियो इलामलाई देख्ता मलाई,
नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो
भुपि शेरचनको कविताको सानो अंशले भने झैं इलाम पूर्वको पहाडको रानी हो । चियाबारीको काख र सल्लाघारीको सुस्केरासंगै रमाउने पहाडकी रानी इलाममा साहित्यको जमघट सुरु भएको छ । सो क्रम अनुसार चौथो संस्करणको ‘इलाम सहित्य महोत्सव’ आज (शुक्रबार) बाट सदरमुकाममा सुरु भएको छ । महोत्सवमा नेपाल, भारत र बंगलादेशका साहित्यकार, लेखक राजनीतिकर्मी तथा कलाकर्मीको उपस्थिति छ । भोलि (शनिबार) सम्म चल्ने महोत्सवमा समाजका विभिन्न पक्षका विद्ववानहरुले किम्मती बहस, छलफल गर्दैछन् । ‘पर्यटनका लागि सहित्य’ मुल नारा राखेर सञ्चालन गरिएको यो महोत्सव इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा सुरु भएको हो । इलामलाई देशविदेशमा चिनाउनका लागि महोत्सव आयोजना गरिएको हो ।
साहित्यको माध्यमबाट महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, आध्यात्म, पर्यटन, वातावरण, प्रविधिलगायत करिब डेढ दर्जन विषयमा बहस सुरु भएको छ । दुईदिने महोत्सवमा ‘विभेदविरुद्धका आलाप’ ‘कविताको पहिचान’ ‘मुन्धुम र पर्यावरण’ ‘सामाजिक सञ्जाल र मूल्य संकट’ ‘पर्यापर्यटन ः अबको बाटो’, ‘इलामे इलम ः पेसा र पैसा’ ‘युवा सपना र संघर्ष’ ‘डिजिटल दुनियाँमा सर्जक’ ‘प्राज्ञिक अनुसन्धानमा पहिचान’ ‘मन्द्राकान्ता ः पात्र विमर्श’, ‘युगदेखि शब्दसम्म’ ‘जीवन फर्केर हेर्दा’ ‘इम्बोइडिङ डाइभर्सिटी इन साउथ एसिया थ्रु ट्रान्सलेसन’ ‘आशा र निरासाको राजनीति’ र ‘इलाम कविता कन्सर्ट’, ‘गाउँको सौन्दर्य’ र ‘कला र अध्यात्म’ बिषयमा बहस चल्नेछ । यी बिभिन्न बिषयको बहसमा नेपाली राजनीतिका युवा नेताहरु गगन थापा, गोकर्ण बिष्ट, नारायणकाजी श्रेष्ठ सहित नेपालका चर्चित कलाकर्मी, साहित्यकर्मीको सहभागिता रहेको छ । महोत्सवको पहिलो दिन भारतको जेएनयुका चेयर प्रोफेसर प्रा.आनन्दकुमारको ‘कि नोट स्पिच’ रहेको थियो । इलामको साहित्यिक महोत्सवमा नेपाल, भारत र बंगलादेशका साहित्यकर्मी, लेखक, चिन्तन सहितका डेढसय जना सहभागि छन् । यो महोत्सवले जिल्लाको साहित्य क्षेत्रका गतिविधि जगाइराख्न सहयोग गरेकाले यसलाई निरन्तरता दिइएको हो ।
यता महोत्सवमा सहभागि भएकाहरु महोत्सवमा आउन पाउँदा उत्साहित बनेका छन् । इलामको पर्यटनसंग जोडेर गरीएको यस साहित्य महोत्सवले इलामको मात्र नभएर अन्तरदेशिय जानकारीहरु आदान प्रदान गर्ने सुवर्ण अवसर भएको महोत्सवमा सहभागि हुन आएकाहरुले बताए । यस्ता महोत्सवले देश बिदेशका साहित्यकारहरु बीच नयाँ नयाँ कुराहरुको जानकारी आदान प्रदान गर्न मद्धत पुग्ने प्रतिक्रिया दिएका छन् ।
साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाम पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि यो महोत्सव आयोजना गरीएको हो । इलाम साहित्य महोत्सवले नेपालकै ठूलो साहित्य महोत्सवको पहिचान बनाइसकेको छ । महोत्सवले नेपालकै ठूलो साहित्य महोत्सवको पहिचान बनाइसकेको छ ।



