काठमाडौं उपत्यकाको राजनीति सधैं तरंगित र परिवर्तनशील रहँदै आएको छ। गत प्रतिनिधिसभा निर्वाचनमा १५ मध्ये ७ सिट जित्दै उपत्यकाको पहिलो शक्ति बनेको नेपाली कांग्रेसका लागि आगामी निर्वाचनमा त्यो विरासत जोगाउनु मुख्य चुनौती बनेको छ। विशेष महाधिवेशनपछि नेतृत्व र धेरै निर्वाचन क्षेत्रमा उम्मेदवार परिवर्तन भएका कारण कांग्रेसले आफ्नो पकड कायम राख्न सक्छ कि सक्दैन भन्ने बहस चर्किएको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट काठमाडौं क्षेत्र नं. १ मा प्रकाशमान सिंह, क्षेत्र नं. ३ मा सन्तोष चालिसे, क्षेत्र नं. ४ मा गगनकुमार थापा, क्षेत्र नं. ५ मा प्रदीप पौडेल र क्षेत्र नं. १० मा राजेन्द्रकुमार केसी विजयी भएका थिए। त्यस्तै, ललितपुर क्षेत्र नं. १ मा उदयशमशेर राणा र भक्तपुर क्षेत्र नं. २ मा दुर्लभ थापा क्षेत्री निर्वाचित भएका थिए।



यद्यपि, उक्त निर्वाचनमा कांग्रेस उपत्यकाको सबैभन्दा ठूलो दल बने पनि नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेस र एमाले दुवैका परम्परागत गढहरू हल्लाइदिएको थियो। यही बदलिँदो राजनीतिक परिवेशले कांग्रेसको चुनौतीलाई अझ जटिल बनाएको छ।
काठमाडौं क्षेत्र नं. १
२०६४ सालदेखि कांग्रेसका लागि सुरक्षित मानिएको यस क्षेत्रमा यसपटक भेट्रान नेता प्रकाशमान सिंह चुनावी मैदानमा छैनन्। कांग्रेसको विरासत जोगाउने जिम्मेवारी अब प्रबल थापाको काँधमा छ।
काठमाडौं क्षेत्र नं. ३
लामो समय एमालेको वर्चस्व रहेको यो क्षेत्रमा पछिल्लो समय कांग्रेसले पकड बनाएको थियो। २०७९ मा सन्तोष चालिसेले एमालेका कृष्णबहादुर राईलाई करिब ३ हजार ९ सय ६२ मतान्तरले पराजित गरेका थिए। तर यसपटक कांग्रेसले नयाँ अनुहार रमेश अर्याललाई अघि सारेको छ।
काठमाडौं क्षेत्र नं. ४
२०७० यता लगातार तीनपटक जित हासिल गरेका गगन थापा यसपटक सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका छन्। उनको स्थानमा युवा उम्मेदवार सचिन तिमल्सिनालाई गगनको लोकप्रियता जस्तै मत आकर्षण गर्न चुनौती छ।
काठमाडौं क्षेत्र नं. ५
उतारचढावपूर्ण चुनावी इतिहास बोकेको यस क्षेत्रमा गत निर्वाचनमा प्रदीप पौडेलले एमाले नेता ईश्वर पोखरेललाई ५ हजार ७९ मतान्तरले हराएका थिए। यसपटक पनि यही दुई नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
काठमाडौं क्षेत्र नं. १०
२०७०, २०७४ र २०७९ मा लगातार विजयी राजेन्द्रकुमार केसी यसपटक चुनावी दौडमा छैनन्। कांग्रेसले नयाँ अनुहार हिमाल कार्कीलाई अघि सारेकाले यहाँ प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ।
भक्तपुर क्षेत्र नं. २
२०४८ सालदेखि अहिलेसम्म कुनै पनि उम्मेदवारले लगातार दोस्रोपटक जित्न नसकेको यो क्षेत्र सधैं रोचक रहँदै आएको छ। २०७९ मा दुर्लभ थापाले एमालेका महेश बस्नेतलाई ९ सय ५७ मतान्तरले पराजित गरेका थिए। यसपटक कांग्रेसले कविर राणालाई उम्मेदवार बनाएको छ।
ललितपुर क्षेत्र नं. १
कांग्रेसका उदयशमशेर राणा र एमालेका पूर्व डीआईजी नवराज सिलवालबीचको प्रतिस्पर्धा हुने यो क्षेत्रमा २०७४ मा सिलवाल र २०७९ मा राणा विजयी भएका थिए। यसपटक पनि कांग्रेसबाट राणा नै उम्मेदवार छन्।
कांग्रेसका लागि सबैभन्दा ठूलो चुनौती स्थापित र लोकप्रिय नेताहरूको अनुपस्थिति वा क्षेत्र परिवर्तन हो। आन्तरिक गुटबन्दी र विशेष महाधिवेशनको प्रभावले चुनावी समीकरण थप जटिल बन्न सक्छ। गत निर्वाचनमा माओवादीसँगको गठबन्धनले लाभ पुगे पनि यसपटक चुनावको मुखैमा भएको नेतृत्व परिवर्तनपछि आन्तरिक एकता कायम गर्नु निर्णायक हुनेछ। पार्टीले घोषणापत्रमार्फत नयाँ एजेन्डा प्रभावकारी रूपमा मतदातासमक्ष लैजान सके कांग्रेसले उपत्यकामा आफ्नो विरासत जोगाउन सक्ने अनुमान गरिएको छ।



