काठमाडौं । सन् २००७ मा नेपालमा सडक सुरुङ मार्गको अवधारणालाई असम्भव र अव्यवहारिक ठानिँदै आएको समयमा त्यसको महत्वबारे औपचारिक प्रस्तुति दिइएको थियो । ¥याडिसन होटल काठमाडौंमा आयोजित उक्त कार्यक्रम Ehime University जापान र सडक विभाग नेपालले संयुक्त रूपमा आयोजना गरेका थिए । कार्यक्रममा सहभागी धेरै इन्जिनियर तथा विज्ञहरूले नेपालको जटिल भू–गर्भ, सक्रिय भूकम्पीय संरचना र आर्थिक सीमालाई देखाउँदै गाडी गुड्ने सुरुङ मार्ग नेपालका लागि सम्भव नहुने टिप्पणी गरेका थिए ।



प्रस्तुतिमा सुरुङ व्यवस्थापन, सरसफाइ, लगानीको स्रोत र लागतलाई लिएर समेत प्रश्न उठाइएका थिए । कतिपय सहभागीले रोड टनेललाई भावनात्मक सपना मात्र भन्दै कम्तीमा ५० वर्षसम्म यसको कल्पना गर्न नसकिने प्रतिक्रिया दिएका थिए । त्यतिबेला काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी सडक खण्डमा सम्भावित छोटा सुरुङ निर्माणका प्रस्ताव पनि प्रस्तुत गरिएका थिए ।
तर समयसँगै उक्त अवधारणाले मूर्त रूप लिएको छ । हाल नागढुंगा सुरुङमार्ग सम्पन्न भएपछि एक समय असम्भव भनिएको सपना यथार्थमा परिणत भएको छ । विज्ञहरूका अनुसार नागढुंगा सुरुङ केवल पूर्वाधार परियोजना मात्र नभई वैज्ञानिक योजना, दीर्घकालीन सोच र राष्ट्रिय आत्मविश्वासको उदाहरण हो ।
यद्यपि सुरुङ मार्गको व्यवस्थापन, लगानी र हिमाली भूगर्भीय जटिलता अझै चुनौतीका रूपमा रहे पनि ती चुनौतीहरूकै बीच नेपालले पूर्वाधार विकासमा नयाँ युगतर्फ पाइला चालेको विश्लेषकहरूको भनाइ छ । उनीहरूका अनुसार विज्ञान, इन्जिनियरिङ र दृढ इच्छाशक्तिको संयोजनले दीर्घकालीन सपना पनि यथार्थमा बदलिन सक्छ ।



