काठमाडौं – चन्द्रागिरि नगरपालिका–१३, पुरानो नैकापस्थित कंकाली माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक विष्णु पनेरुले आगामी स्थानीय तह निर्वाचनमा नगरप्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शुक्रबार अपराह्न सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै पनेरुले चन्द्रागिरिवासीको साथ र सहयोगको अपेक्षासहित मेयर पदमा उम्मेदवारी दिने बताएका हुन्।
यद्यपि, उनले कुनै राजनीतिक दलबाट उम्मेदवारी दिने वा स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने भन्नेबारे खुलाएका छैनन्। पनेरुले कंकाली माध्यमिक विद्यालयमा ४२ वर्ष ९ महिना सेवा गरेका थिए। गत साउन ३१ गते अनिवार्य अवकाश पाएका उनी लामो समयसम्म शैक्षिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति हुन्।



शिक्षण सेवाबाट अवकाश पाएलगत्तै नगरप्रमुख पदमा उम्मेदवारी घोषणा गरेका पनेरुको आगामी राजनीतिक यात्रा कस्तो हुने भन्ने चासो बढेको छ। तर उनले नगर विकासका प्राथमिकता, चुनावी एजेन्डा र उम्मेदवारीको राजनीतिक आधारबारे विस्तृत जानकारी सार्वजनिक गर्न बाँकी छ। उनको उम्मेदवारी घोषणासँगै चन्द्रागिरिको आगामी स्थानीय तह निर्वाचनमा नगरप्रमुख पदको प्रतिस्पर्धाबारे थप चर्चा हुने देखिएको छ।



