काठमाडौं–१० मा यसपटक प्रमुख दलहरूले नयाँ अनुहारलाई अघि सारेका छन् । नेपाली कांग्रेसले लगातार तीन पटक निर्वाचित भएका पूर्व सांसद राजेन्द्रकुमार केसीलाई उम्मेदवार नबनाउने निर्णय गरेपछि नयाँ प्रतिस्पर्धाको वातावरण बनेको छ । कांग्रेसले केसीको स्थानमा हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ । कार्की कीर्तिपुर नगरपालिका–१० का स्थायी बासिन्दा हुन् । उनी २०४३ सालदेखि नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा सक्रिय छन् । २०५४ सालमा वडाध्यक्ष निर्वाचित भए पनि त्यसपछि संसदीय चुनावमा अवसर पाएका थिएनन् । यसपटक उनी पहिलोपटक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।

नेकपा एमालेले पनि यस क्षेत्रमा नयाँ उम्मेदवार अघि सारेको छ । एमालेबाट मजदुर नेता विनोद श्रेष्ठ उम्मेदवार बनेका छन् । श्रेष्ठ पार्टीको संगठनात्मक गतिविधिमा लामो समयदेखि संलग्न रहँदै आएका छन् । उनी नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष तथा दक्षिण एसियाली ट्रेड युनियन महासंघका उपाध्यक्ष समेत हुन् । ६१ वर्षीय श्रेष्ठ चन्द्रागिरी नगरपालिकाका निवासी हुन् ।

गत निर्वाचनमा तेस्रो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने यसपटक पनि प्रदीप विष्टलाई नै उम्मेदवार बनाएको छ । विष्ट कीर्तिपुर नगरपालिकाका स्थानीय हुन् र पार्टीका काठमाडौं जिल्ला सभापति समेत हुन् । अघिल्लो चुनावमा उनले प्रत्यक्षतर्फ तेस्रो स्थान हासिल गरेका थिए । प्रचण्ड संयोजक रहेको नेकपाले काठमाडौं–१० मा रुपा महर्जनलाई उम्मेदवार बनाएको छ । उनी चन्द्रागिरी नगरपालिकाकी स्थायी बासिन्दा हुन् । महर्जन तत्कालीन माओवादी केन्द्रका पुराना नेता दिलिप महर्जनकी छोरी हुन् ।

विगतका निर्वाचन नतिजा हेर्दा काठमाडौं–१० मा कांग्रेस बलियो देखिँदै आएको छ । २०६४ सालपछि भएका अधिकांश निर्वाचनमा कांग्रेसले जित हात पारेको छ । यस क्षेत्रमा पर्ने २९ वडामध्ये २१ वडामा कांग्रेसका वडाध्यक्ष निर्वाचित छन् । कीर्तिपुर, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकामा पनि कांग्रेसले स्थानीय तहको नेतृत्व जितेको छ । काठमाडौं–१० मा कुल ८३ हजार ३०१ मतदाता छन् । तीमध्ये महिला मतदाता ४२ हजार ७१६ र पुरुष मतदाता ४० हजार ५८३ छन् । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा ४७ मतदान स्थल र ९८ मतदान केन्द्र रहेका छन् ।दलीय तथा स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिएका छन् । नयाँ र पुराना अनुहारबीचको प्रतिस्पर्धाले काठमाडौं–१० को चुनावी माहोललाई थप चासोपूर्ण बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय