काभे्र काभ्रेको बनेपा नगरपालिका–५ मा रहेको शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालले क्यान्सर रोगको उपचार सुरु गरेको छ । काभ्रे तथा आसपासका जिल्लाका नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजता प्रदान गर्ने उदेश्यले बनेपामा क्यान्सर रोगको उपचार सेवा शुभारम्भ गरिएको अस्पतालले जानकारी दिएको छ ।



आइतबार एक कार्यक्रमबीच जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले संयुक्त रुपमा सेवा शुभारम्भको घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख गौतमले क्यान्सर रोगको उपचार अब बनेपाबाटै शुभारम्भ भइसकेकोले काभ्रे र आसपासका जिल्लाका बिरामीले लाभ लिन सक्ने बताए । अस्पतालले सुरु गरेको क्यान्सर रोगको उपचारलाई गुणस्तरीय बनाउन आफूले सहयोग, सहकार्य र समन्वय गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गाइरस, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य लगायतले उपचार सेवा गुणस्तरीय र प्रभावकारी बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।अस्पतालको क्यान्सर केयरका विभागीय प्रमुख डा. पुष्प खर्बुजाका अनुसार दुई महिनाको अवधिमा अस्पतालले ६ जना क्यान्सरका बिरामीको सफल उपचार गरिसकेको छ ।



