स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आँखाको उपचारमा समस्या र संवेदनशिलतालाई ख्याल गर्दै राज्यले सबै जिल्लामा आँखा परिक्षण केन्द्र र अस्पतालको ब्यवस्थापन गर्न खोजेर पनि नसकेको बताएकाछन् । युकाई एईको मासुनागा आँखा अस्पताल बनेपामा शुक्रबारबाट शुरु भएको दुई दिने अन्र्तराष्ट्रिय नेत्र विशेषज्ञ सम्मेलन तथा ओपिडी ब्लकको उद्घाटन पछि मन्त्री बस्नेतले आँखा अस्पताल र उपचारको क्षेत्रको अवस्था निराशाजनक भएको बताउँदैे रेयुकाई आँखा अस्पताल जस्ता केहि संस्थाले नागरिकहरुको न्यूनतम आवश्यकता पुरा गरेको बताए ।
मन्त्री बस्नेतल स्वास्थ्य क्षेत्रमा सुधार गर्ने हो भने पूर्वाधार, दक्ष जनशक्ति र न्यूनतम प्रविधी आवश्यक रहेको छ ।’ सरकारले चालु वर्षको बजेटमा स्वास्थ्य मन्त्रालयको २० प्रतिशत बजेट कटौती गरेको बताउँदै मन्त्री बस्नेतले भने –‘जनताको शिक्षा, स्वास्थ्य र खाद्यबस्तुलाई जनताको मौलिक हक भनिएको भए पनि त्यसको पूर्ण ब्यवस्थापन राज्यले गर्न सकेको छैन । उपचार पाउन नसकेर अस्पतालबाट हाम फालेर, उपचार पछि घर गएर आत्महत्या गर्नु पर्ने परिस्थितीलाई राज्यले जिम्मा लिनु पर्छ । राज्यको प्रतिनिधि म भएकाले त्यसको जिम्मेवारी म लिन्छु ।’ गरिवहरुको निशुल्क उपचार हुनु पर्छ । पैसा नहुनेहरुले पैसा नभएकै कारण उपचार नपाएर मर्नु पर्ने परिस्थितीको सरकारले अन्त्य गर्ने मन्त्री बस्नेतले बताए ।



अस्पतालका अध्यक्ष मधु आचार्यले रेयूकाई मासुनागा आँखा अस्पतालले काभ्रे जिल्ला र आसपासका क्षेत्रका नागरिकहरुमा आँखामा हुने रोगहरुको पहिचान, उपचारसँगै मोतियाविन्दु मुक्त बनाउने अभियानमा तिन तहकै सरकारको समन्वय आवश्यक रहेको बताए ।
अस्पतालले अघिल्लो आर्थिक वर्ष ६० हजार विरामीलाई सेवा गर्ने लक्ष्य लिएकोमा ५५ हजार ९ सय ९७ जनालाई सेवा उपलब्ध गराएको थियो भने ६ सय जनाको अप्रेसन गर्ने लक्ष्य लिएकोमा ४ सय ४५ जनाको अप्रेसन गरेको छ । चालु वर्षका लागि ७० हजारलाई सेवा दिने योजना बनाएको छ भने ६ सय ५० जनाको अप्रेसन गर्ने लक्ष्य लिएको अस्पतालका प्रशासकिय प्रमुख हिरामणी शर्माले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलनमा अमेरिका, नेपाल भरका आँखा अस्पतालमा कार्यरत नेत्र विशेषज्ञहरु १ सय ५० जनाको सहभागिता रहेको छ । सम्मेलनमा विश्वभर भईरहेका अभ्यास तथा अनुभव र आगामी दिनमा हुन सक्ने सम्भावित चुनौतीका बारेमा विशेषज्ञहरुले छलफल गर्नेछन् ।



