कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । तर ठूला दलका उम्मेदवारले सार्वजनिक गरेका एजेन्डा भने झन्डै उस्तै–उस्तै देखिएका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि सबैको प्राथमिकतामा परेको छ । मतदाता भने ‘एजेन्डा धेरै, फरकपन कम’ भन्दै प्रश्न उठाउन थालेका छन् ।
कैलाली क्षेत्र नम्बर ५ मा चुनावी मैदानमा उत्रिएका प्रमुख दलका उम्मेदवारले मिल्दाजुल्दा प्रतिबद्धता सार्वजनिक गरेका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस अध्ययन सञ्चालन, छ सय शैय्याको अस्पताल स्थापना, धनगढी उपमहानगरपालिकालाई महानगर बनाउने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम अगाडि बढाउने विषय सबै दलको साझा एजेन्डा बनेका छन् । नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह ‘मनु’, नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गाना र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेबीच एजेन्डामा खासै भिन्नता देखिँदैन । नेकपा एमालेका उम्मेदवार ढुङ्गानाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार, सामाजिक न्याय र सूचना प्रविधिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।



नेपाली कांग्रेसका उम्मेदवार शाहले भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, ग्रामीण विकास, खानेपानी, नदी नियन्त्रण, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिनु भएको छ । आदिवासी जनजाति, दलित र रानाथारू समुदायको भाषा, कला, साहित्य तथा धार्मिक–पर्यटन प्रवर्द्धनलाई पनि आफ्नो एजेन्डामा समावेश गर्नुभएको छ । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेले पनि स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने आफूलाई केही फरक एजेन्डासहित प्रस्तुत गरेको दाबी गरेको छ । कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, कृषि बीमा, भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण, खेलकुद र स्वास्थ्य क्षेत्रमा सुधार आफ्नो प्राथमिकतामा रहेको जनाएको छ । उम्मेदवारहरू प्रतिबद्धता र योजनासहित मतदातामाझ पुगिरहेका छन् । तर कैलाली–५ मा भने एजेन्डाको समानताले मतदातामा उत्साहभन्दा प्रश्न बढी देखिन्छ । अब मतदाताले वाचा होइन, कार्यान्वयन क्षमताको मूल्यांकन गर्ने बताएका छन् ।




