काठमाडौं । क्यानडाको एक माध्यमिक विद्यालय र घरमा गोली चल्दा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।



ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिज शहरको विद्यालयमा एका बिहानै अन्धाधुन्ध गोली चलेको प्रहरीले जनाएको छ । विद्यालयमा कक्षा ७ देखि १२ सम्मका १७५ विद्यार्थी पढ्ने गरेको बताइएको छ । मृत्यु हुनेमा संदिग्ध बन्दुकधारी समेत रहेको रोयल क्यानेडियन माउन्टेड पुलिसले बताएको छ । विद्यालयभित्र ६ जना र अर्का एक जनाको अस्पताल लैजाँदै मृत्यु भएको थियो । घटनास्थल नजिकैको अर्को एक घरमा थप दुई जनाको शव फेला परेकाले यसको सम्बन्ध गोलीकाण्डसँग रहेको विश्वास गरिएको छ ।
संदिग्ध आक्रमणकारी पनि विद्यालयभित्रै मृत फेला परेका थिए । उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । केही सञ्चारमाध्यमले आक्रमणकारी महिला भएको बताएपनि प्रहरीले आधिकारिक पुष्टि गरेको छैन । गोली लागेर २५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुई जना गम्भीरलाई हेलिकप्टरमार्फत अस्पताल पु¥याइएको छ भने २५ जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री मार्क कार्नीले भयानक गोलीकाण्डबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन् । घटनापछि कार्नीको जर्मनी भ्रमण स्थगित भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यहाँ अमेरिकाको तुलनामा बन्दुक सम्बन्धी कानून कडा भएपनि पछिल्ला वर्षमा भएका यस्ता सामूहिक गोलीकाण्डले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ । सन् २ हजार २२ मा सरकारले ह्यान्डगन खरिद–बिक्रीमा प्रतिबन्ध लगाएपनि घटना रोकिन सकेका छैनन् ।




