काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्वको पहिलो दिनको जात्रा विधिपूर्वक मनाइएको छ । उपत्यकालगायत देशभरका मुख्य सहरमा दिवंगत भएका आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गर्दै पहिलो दिनको गाईजात्रा मनाइएको हो । गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयवागेश्वरीमा रोपाइँ जात्रा मनाउने गरिन्छ ।
गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा र अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालेखि सुरु भएको हो । एक वर्षदेखि दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ । गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साजसज्जाका साथ गाईको भेषमा बालबालिकाको ¥याली निकालिएको थियो ।



आठ दिनसम्म गाईजात्रा, खड्गजात्रा, रोपाइँजात्रालगायत नाममा गाईजात्रा सप्ताहव्यापी रुपमा मनाउने परम्परा रही आएको छ । मृत्यु भएकाको सम्झनामा नगरपरिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक जनविश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको जानकारहरू बताउँछन् । यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको जनश्रुति रहेको छ ।
पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छन् ।
यो पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा र पोखरा लगायतका सहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।



