रुकुमपूर्वको दुर्गम हिमाली क्षेत्रमा विशाल चट्टान चिरेर सयौँ फिट तल झर्ने गुल्जा झरना आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। प्राकृतिक सौन्दर्यसँगै मौलिक सांस्कृतिक पहिचान बोकेको यो झरना पूर्वाधार, संरक्षण र प्रभावकारी प्रचार–प्रसारको अभावमा भने अझै ओझेलमै छ।
समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाइमा रहेको गुल्जा झरनाले आफ्नो दुर्लभ बनोटका कारण पछिल्लो समय आन्तरिक पर्यटकको ध्यान तान्न थालेको छ। नेपालका धेरैजसो झरना खोला, खोल्सा वा मुहानबाट बग्ने गर्छन्। तर गुल्जा झरना विशाल चट्टानको काप चिरेर बाहिर निस्कन्छ। यही विशेषताले यसलाई अन्य झरनाभन्दा फरक र आकर्षक बनाएको छ।



प्राकृतिक सौन्दर्यसँगै यहाँको मौलिक संस्कृति पनि पर्यटकका लागि अर्को आकर्षण बनेको छ। स्थानीय युवायुवती परम्परागत पोशाकमा सजिएर झरनाको काखमा तस्बिर तथा भिडियो खिच्न थालेपछि प्रकृति र संस्कृति एउटै फ्रेममा कैद हुन थालेका छन्। यही कारण गुल्जा झरना प्राकृतिक पर्यटनका साथै सांस्कृतिक पर्यटनको सम्भावना बोकेको गन्तव्यका रूपमा पनि चिनिन थालेको छ। स्थानीय संस्कृति, परम्परागत पहिरन र प्राकृतिक सम्पदालाई एकसाथ प्रवर्द्धन गर्न सके यस क्षेत्रको पहिचानसँगै स्थानीयको आयआर्जनसमेत बढाउन सकिने पर्यटनप्रेमीको भनाइ छ।
प्रकृतिले आफैं कुँदेको यो अनुपम झरना विस्तारै पर्यटकको रोजाइमा पर्न थालेको छ। तर यसको वास्तविक सम्भावनालाई पर्यटनको बलियो आधार बनाउन संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचार–प्रसारमा सम्बन्धित निकायको सक्रियता अपरिहार्य देखिन्छ।



