काठमाडौं । दुई सातादेखि उपत्यकाका बजारमा नेपाल ग्यासको चरम अभाव जारी छ । घरायसी तथा व्यावसायिक उपभोक्ताले ग्यास नपाउँदा दैनिक जीवनमा असुविधा भोग्नुपरेको छ ।



स्थानीयका अनुसार, नेपाल ग्यासको वितरणमा ढुवानीमा समस्या देखिएकोले बजारमा ग्यास समयमै उपलब्ध हुन सकेको छैन । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यासको कार्यालयमा दैनिक सयौँ उपभोक्ता खाली सिलिण्डर बोकेर पुग्ने गरेका छन् ।
नयाँ बसपार्कका उपभोक्ता नमराज घिमिरेले भने, “घरमा ग्यास खाँचै भइसक्यो, डिपोले ग्यास दिँदैन, डिपोले कम्पनीमै जानु त्यहाँ बाँडिएको छ भन्यो । हिजो ग्यास बाँडिएको भनिए पनि आज पाएनौं, बिचल्ली भएको छ। ” घिमिरेले घरमा एउटै सिलिण्डर मात्र भएकाले दैनिक खानपिनमा समस्या आएको बताए ।
चाबहिलका प्रेम साह र धार्दिङका अर्जुन सिम्खडाले पनि बजारमा ग्यास नपाउँदा दैनिक जीवनमा कठिनाइ भएको बताए । साहले ग्यास नभएको कारण आगोमा पकाएर जीविकोपार्जन गरिरहेको बताए ।
नेपाल ग्यासका कार्यकारी सञ्चालक गोकुल भण्डारीले ढुवानीमा समस्या देखिएको र त्यसैले केही दिन बजारमा ग्यास अभाव भएको बताए । उनका अनुसार, “हाम्रो दायित्व भनेको सम्पूर्ण उपभोक्तालाई समयमै ग्यास उपलब्ध गराउनु हो । तर, लोडिङमा आफ्ना बुलेट नभएका कारण ढुवानीमा समस्या देखियो । उद्योगको मात्र कारणले होइन, राज्यसँगको समन्वय आवश्यक छ ।”
भण्डारीले दैनिक खपत ८ हजार सिलिण्डर रहेको र जाडो महिनामा अझ बढी खपत हुने बताए । उनका अनुसार, बजारमा देखिएको अभाव क्रमशः हट्दै गएको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने, “नेपाल ग्याससहित केही अन्य ग्यासमा पनि अभाव देखापरेको छ । ढुवानी गर्ने भारतीय कम्पनीहरूमाथि निर्भर भएकाले समयमै ग्यास नआउँदा समस्या भयो। हामी उद्योगीहरूलाई बोलाएर अभाव हटाउन निर्देशन दिइसक्यौँ। कालोबजारी गर्नेहरू विरुद्ध कडा कारबाही हुनेछ ।”
प्रवक्ता ठाकुरका अनुसार, चुनाव नजिकिँदै गर्दा निगमले बजारमा ग्यासको उपलब्धता सुनिश्चित गर्न विशेष चासो दिएको छ । उपभोक्ताले भने, “दैनिक जीवन प्रभावित भएको छ, सरकार र उद्योगीहरूले चाँडै समाधान खोज्नुपर्छ ।”



