धरानमा डेंगु संक्रमितहरुको संख्या अत्याधिक बढ्दै गएको छ । जति जति संक्रमित बढ्दै गएका त्यति त्यति मेडिकल माफियाहरुले मौकाको फाइदा उठाउँदै सर्वसाधारणसँग औषधि र उपचारको नाममा महंगो मूल्य लिएर सवसाधारणलाई ठग्ने गरेकोे देखिएको छ ।
डेंगु संक्रमणको समयमा औषधि उपचारका नाममा महंगो शुल्क लिएको गुनासो आएपछि धरानमा अनुगमन सुरु भएको छ । उपचार एवम् औषधिमा मेडिकल हलहरुले चर्काे मूल्य लिने गरेको गुनासो व्यापक आएपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले आफ्ना वडामा रहेका मेडिकल हलहरुमा अनुगमन गरेको हो ।



किटको अभाव तथा औषधिको कृतिम अभाव देखाउदै विरामीबाट महँगो मूल्य लिने गरेको व्यापक गुनासो वडामा आएपछि वडाध्यक्षसहितको टोलीले वडामा रहेका मेडिकल हलहरुमा अनुगमन गरेको हो । डेंगु संक्रमण पत्ता लगाउने किटको मूल्य १ सय ५० सम्म पर्ने भएपनि १ हजारसम्म लिने गरेको, विरामीलाई लगाइने स्लाइन पानीको मूल्य बढी लिएको र सिविसी चेक गर्दा महँगो शुल्क लिने गरेको पाइएपछि अनुगमन गरिएको जनप्रतिनिधिहरुले बताएका छन । नुगमनका क्रममा विरामीले प्रत्यक्ष थाहा पाउने गरी मूल्य सूचि बोर्ड राख्न निर्देशन दिइएको छ ।
संक्रमणको समयमा मेडिकल हलहरुले औषधि र उपचारमा बढी मूल्य लिइरहेकोे व्यापक गुनासो आइरहेको समयमा धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाले अनुगमन गरेर बढी रकम लिने मेडिकल हललाई कारबाही नगरेपछि बडाले सक्रियता देखाएको हो । महामारीको समयमा सबैको सहकार्य आवश्यक रहेको जनप्रतिनिधिको भनाइ छ ।
धरानमा अहिले २० नं. वडाको टोल टोल र घर घरमा डेंगु संक्रमण रोगीहरु बढ्दै गएका छन् । संक्रमणका समयमा सेवा भाव भन्दा पनि मौकामा फाइदा लिने प्रवृत्तिको विकास भइरहेको अवस्थामा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अनुगमनलाई व्यापकता दिँदै आएको जनाएको छ । १ सय ५० रुपैयाँसम्म पर्ने किटलाई १ हजारसम्म लिने गरेको सर्वसाधारणको गुनासो आएको महाशाखाको भनाइ छ ।
धरान स्वास्थ्य संस्थामा सिटामोल, जीवनजल र डेंगी परीक्षण किट अभाव छ । प्रतिष्ठानमा डेंगी परीक्षणका लागि तत्काल ५ हजार किट, दश हजार प्याकेट जीवनजल, १ लाख चक्की सिटामोल, डेंगी उपचार र परीक्षणका शिविरहरू तत्काल सञ्चालन गर्न उपमहानगरले आग्रह गरेको छ । जेठ दोस्रो सातायता डेंगीका कारण उदयपुरका एक र धरानमा आठ सहित नौ जनाको मृत्यु भएको छ । हालसम्म ४ हजार ८६ जनाको परीक्षण गर्दा दुई हजार चार सय १४ मा संक्रमण देखिएको छ ।



