स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था ल्याउने गरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । आज एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताउनुभएको हो । उहाँले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरुमा बीमा सुविधा हुनुपर्ने बताउनु भयो । त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने उहाँको तर्क छ । नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने भन्दै दुवै एउटै नियकाले हेर्दा बीमा व्यवस्थित गर्न नसकिएको उहाँको निष्कर्ष छ ।
मन्त्री पौडेलले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पताललाई सुझाव समेत दिनुभयो । विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढंगले सेवा दिनुपर्नेमा उहाँको जोड थियो ।कार्यक्रममा मन्त्री पौडेलले बीमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नेतर्फ आफु निरन्तर लागिपरेको समेत बताउनुभएको थियो ।






