नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनताका विषयमा छिमेकीले चिन्ता गर्न नपर्ने बताएका छन् । शनिबार रुपन्देहीमा आयोजित एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा ओलीले देशको स्वाभिमान र स्वाधीनता आफूहरुले नै माथि उठाउने भन्दै छिमेकीले पिर गर्न नपर्ने बताएका हुन् । उनले एमालेले देशको स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अंखण्डता हुनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएकाले राष्ट्रिय स्वाभिमानलाई तल गिर्न नदिने प्रतिवद्धता पनि जनाए ।



अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले केही महिना अघि गरेको भारत भ्रमणका क्रममा ईपीजीको प्रतिवेदनका विषयमा कुरा गर्न डराएको भन्दै ब्यंग्य समेत गरे । उनले वामपन्थीको खोल ओढेकाहरूले दक्षिणपन्थीसँग मिलेर एमालेको सरकार ढालेको आरोप समेत लगाए । ओलीले पार्टीको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट चयन गर्न निर्देशन समेत दिए ।



