इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश बिन्दुहरू, कोभिड–१९ का जानकारी प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन भनेको हो ।
नेपालमा पहिलोपटक सोमबार सात जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन वान भेटिएको थियो । साथै सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउनसमेत महाशाखाले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थानजस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गन हुन, भौतिक दूरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ ।



छिमेकी भारतमा फैलिएको ओमिक्रोनको नयाँ रूप संक्रमण नेपालमा पनि देखा परेपनि सीमामा सतकर्ता देखिएको छैन । भारतसँगको खुला सीमा नाकामा यसबारे कुनै सतर्कता अपनाइएको छैन । आवातजावत निर्वाध छ । स्वास्थ्य परीक्षण छैन । परीक्षणका लागि आवश्यक किट पनि नभएको स्वाथ्यकर्मी बताउछन ।



