पोषणयुक्त र आकर्षक फलका रूपमा चिनिने मुन्तला नेपालमा अझै पनि घरायसी तथा शौखिन खेतीमै सीमित छ। सजिलै खेती गर्न सकिने, छिटो फल दिने र उपभोग गर्न सहज हुँदाहुँदै पनि यसको व्यावसायिक खेती भने हालसम्म सुरु हुन सकेको छैन।सानो कदको बोटमा पातभन्दा बढी सुन्तले रङका, बयर जस्तै देखिने र बयरकै आकारका फल लटरम्म फल्ने मुन्तला नेपालमा राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम, पारिपाट्ले परिसरभित्र देखिन थालेको हो। नेपालमा आधिकारिक रूपमा यो फल कहिले भित्रियो भन्ने स्पष्ट अभिलेख नभए पनि अनुसन्धान कार्यक्रमका अनुसार २०६० सालतिर अनुसन्धानको क्रममा मुन्तला भित्रिएको मानिन्छ।
रुटेसी ९च्गतबअभबभ० परिवारमा पर्ने मुन्तला कलमी प्रविधिबाट तयार गरिएको बिरुवाले १–२ वर्षमै फल दिन सुरु गर्छ। राम्रोसँग हुर्किएको ५–८ वर्ष उमेरको एउटा बोटबाट वार्षिक ८ सयदेखि १ हजारसम्म फल उत्पादन हुन सक्ने विज्ञहरूको भनाइ छ। पोषणका हिसाबले मुन्तलामा उच्च मात्रामा फाइबर, भिटामिन ‘सी’ र ‘ए’, मांगनीज, चिनी तथा साइट्रिक एसिड पाइन्छ।



समुद्री सतहबाट करिब ८ सयदेखि १ हजार ५ सय मिटर उचाइका स्थान मुन्तलाको खेतीका लागि उपयुक्त मानिन्छ। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि नेपालमा यो फल अहिलेसम्म व्यावसायिक रूपमा स्थापित हुन सकेको छैन। बजारमा पनि मुन्तला निकै दुर्लभ छ।चीन, जापान, युरोप र अमेरिका लगायतका देशमा भने मुन्तला सहजै पाइन्छ। यो प्रजाति सयौँ वर्षअघि चीनबाट उत्पत्ति भएको मानिन्छ। काठमाडौंका केही ठूला बजारमा मुन्तला महँगो मूल्यमा बिक्री हुने गरे पनि नेपालमा यसको खेती भने ठूला घरका छतमा राखिएका गमलामै सीमित देखिन्छ।
गमला, प्लास्टिकको बोरा तथा बाँस–काठका भाँडामा समेत मुन्तला उत्पादन गर्न सकिने भएकाले साना किसान तथा शहरी क्षेत्रमा बसोबास गर्ने कृषकका लागि समेत यो फल उपयुक्त मानिन्छ। लोकल बयरभन्दा केही ठूलो आकारको यो फल खानका लागि बोक्रा तास्नु नपर्ने र बोटबाट टिपेर सफा गरेपछि सिधै खान मिल्ने विशेषता पनि यसमा रहेको छ। किसानमा मुन्तलाको बजारबारे पर्याप्त जानकारी नहुनु, उपभोक्तामा कम परिचित हुनु, प्रशोधन तथा बजारीकरण संरचनाको अभाव र सरकारी तहबाट प्राथमिकता नपाउनु नै मुन्तला व्यावसायिक बन्न नसक्नुका प्रमुख कारण मानिन्छ।
कृषि विज्ञहरूका अनुसार यदि सरकारी प्रोत्साहन, तालिम, प्राविधिक सहयोग र बजार सुनिश्चितता प्रदान गर्न सकियो भने मुन्तला उच्च मूल्य दिने वैकल्पिक फलका रूपमा स्थापित हुन सक्छ। स्वास्थ्यप्रति बढ्दो चेतना र जैविक फलफूलको माग बढिरहेको वर्तमान अवस्थामा मुन्तलाको व्यावसायिक खेती प्रवद्र्धन गर्न सके किसानको आयआर्जन बढ्नुका साथै पोषण सुरक्षामा पनि उल्लेख्य योगदान पुग्ने विज्ञहरूको विश्वास छ।



