बझाङ र जाजरकोटमा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जना र बझाङमा पनि पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर जाजरकोटको नलगाड नगरपालिका –२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र उनीहरुका दुई वर्षीय छोरा शुभम परियारको मृत्यु भएको हो । नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार मृतक सबै भूकम्प पीडित हुन् । स्थायी आवास नबनेकाले उनीहरु अस्थायी टहरोमा बस्दै आएका थिए । घटनास्थल नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिक पर्दछ ।

यस्तै बझाङमा गएराति आएको पहिरोमा परेर बुंगल नगरपालिका–१० को टुमेडाका एकै परिवारका ४ जनाको मृत्यु भएको हो । पहिरोमा परेर मृत्यु भएका चारै जनाको शव निकालिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले जानकारी दिनुभएको छ । उहाँले ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी पहिरोमा पुरिएर मृत भेटिएको जनाएका छन् ।

यसैबीच प्रदेश सरकारले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय