आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ८ जना पूर्व अर्थमन्त्रीहरूसँग आगामी बजेटका विषयमा विस्तृत छलफल गरेका हुन् ।
छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले पूर्वतयारीबिनाका टुक्रे तथा खुद्रा आयोजनामा बजेट नछर्न सुझाव दिएका छन् । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले आर्थिक सुधारसम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै अव्यवस्थित खर्च रोक्नुपर्ने बताए ।



पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने र निजी क्षेत्रलाई विद्युत् व्यापारमा खुला गर्नुपर्ने सुझाव दिए । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व वृद्धिको लक्ष्य यथार्थपरक हुनुपर्ने, उपभोक्ता समितिमार्फत विकास कार्य रोक्नुपर्ने र कर प्रणाली सरल बनाउनुपर्ने बताए ।
पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने, उत्पादनमुखी नीति ल्याउनुपर्ने र कृषिमा अनुदान आवश्यक रहेको बताए । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजना घटाउन, पर्यटन पूर्वाधार विस्तार गर्न र सरकारी उद्योग सुधार गर्न सुझाव दिए ।
त्यस्तै, पूर्व अर्थमन्त्री प्रकाशशरण महतले सामाजिक सुरक्षा प्रणाली पुनरावलोकन, सरकारी संस्थान निजीकरण मोडेलमा सञ्चालन र ठूला ठेक्कामा पारदर्शिता आवश्यक रहेको बताए । पूर्व अर्थमन्त्री वर्षमान पुनले पर्यटन पूर्वाधार, कृषि बजार विस्तार र सरकारी संस्थान सुधारमा जोड दिए ।
पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बलियो जनमतको अवसर उपयोग गर्दै सुधारमुखी बजेट ल्याउन सुझाव दिए भने पूर्व अर्थमन्त्री जनार्दन शर्माले खर्च कटौती, उत्पादनमुखी लगानी र सीपयुक्त जनशक्ति विकासमा ध्यान दिनुपर्ने बताए ।कार्यक्रममा सबै पूर्व अर्थमन्त्रीहरूले बजेट यथार्थपरक, उत्पादनमुखी र निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।



