काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर तीन, डिजेल र मट्टितेल पाँच रुपियाँले वृद्धि गरेको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ ।



इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ छ पैसा बढेर आएको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर २०० पुगेको छ । सुर्खेत र दाङमा १९९ भएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
यसअघि पेट्रोल प्रतिलिटर १९७ र डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ रहेको थियो । पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि पाक्षिक रूपमा एक अर्ब ४९ करोड बराबरको घाटा हुने निगमले जनाएको छ ।



