रोल्पा — चारैतिर हरियाली जंगल। जंगलको बीचमा शान्त र सुन्दर ताल। तालवरिपरि रहेका साना–साना पहाडी थुम्का र प्राकृतिक दृश्यले जोकोहीलाई आकर्षित गर्छ। तर पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावमा यस्तो सुन्दर गन्तव्य अझै पनि धेरैका लागि अपरिचित छ। यो हो, रोल्पाको परिवर्तन गाउँपालिका–४ पाछाबाङमा रहेको तेह्रकुने दह। समुद्री सतहबाट करिब २ हजार ३ सय मिटरको उचाइमा रहेको तेह्रकुने दह घना जंगलको बीचमा अवस्थित छ। दह वरिपरि तेह्रवटा साना पहाडका थुम्का रहेकाले स्थानीयले यसको नाम तेह्रकुने दह राखिएको बताउँछन्। हरिया बोटबिरुवा, फूल र दहवरिपरि उम्रिएका पानीका साना मूलले यहाँको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएका छन्।

पछिल्लो समय नेपालमा नयाँ–नयाँ पर्यटकीय गन्तव्यको खोजी र प्रवर्द्धन भइरहेका बेला तेह्रकुने दह पनि सम्भावना बोकेको गन्तव्यका रूपमा देखिन्छ। दहसँगै नजिकै रहेको रातामाता टावर र कालापोखरा क्षेत्रलाई समेत जोडेर पर्यटकीय सर्किटका रूपमा विकास गर्न सके आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ।

पूर्वाधार बन्दैछन्, तर अधुरा

तेह्रकुने दहको संरक्षणका लागि पछिल्ला वर्षमा केही काम सुरु भएका छन्। भू–तथा जलाधार व्यवस्थापन कार्यालय, रोल्पाले २ लाख ३२ हजार ७ सय ७० रुपैयाँ खर्च गरेर दह वरिपरि घेरबार गरेको छ। तर बजेट अभावका कारण घेरबारको काम पूर्ण हुन सकेको छैन। पर्यटकलाई विश्राम गर्न सहज होस् भनेर पर्यटन डिभिजन कार्यालय कोहलपुरमार्फत स्थानीयको जनश्रमदानसहित ४ लाख ३१ हजार ९ सय ८५ रुपैयाँको लागतमा टहरा पनि निर्माण गरिएको छ। टहरासँगै शौचालय निर्माणको काम थालिए पनि त्योसमेत पूर्ण हुन सकेको छैन। दह वरिपरि जाली लगाइए पनि त्यसले पैदल हिँड्न केही कठिनाइ हुने गरेको स्थानीय बताउँछन्।

बाटो सहज भए पर्यटक बढ्ने अपेक्षा

तेह्रकुने दह पुग्ने बाटो पनि पर्यटकका लागि मुख्य चुनौती बनेको छ। जंगल र खोला हुँदै दहतर्फ पुग्ने बाटो आफैँमा रमणीय भए पनि पैदलयात्रीका लागि बाटो सुधार गर्नुपर्ने आवश्यकता रहेको स्थानीय अनिता बुढामगर बताउनुहुन्छ। स्थानीयका अनुसार अहिले पनि रोल्पाका विभिन्न ठाउँसँगै सल्यान र रुकुम पश्चिमबाट मानिसहरू तेह्रकुने दह र रातामाता क्षेत्र घुम्न आउने गरेका छन्। बिदा मनाउन, पिकनिक गर्न तथा मेलापर्वका समयमा यहाँ मानिसको चहलपहल बढ्ने गरेको छ। दहनजिकै धार्मिक तथा सांस्कृतिक गतिविधिसमेत हुने गरेका छन्।

इतिहाससँग जोडिएको रातामाता

तेह्रकुने दहको आकर्षण प्रकृतिमा मात्र सीमित छैन। नजिकै रहेको रातामाता टावर क्षेत्र तत्कालीन द्वन्द्वका घटनासँग समेत जोडिएको स्थानीय बताउँछन्। विगतमा तत्कालीन विद्रोहीले सुरक्षाकर्मीमाथि आक्रमण गरेको ठाउँका रूपमा चिनिने रातामाता क्षेत्रलाई इतिहास र पर्यटनसँग जोडेर विकास गर्न सकिने सम्भावना छ। प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक पक्षसमेत जोडिएकाले तेह्रकुने दह, रातामाता र कालापोखरालाई एउटै पर्यटकीय मार्गमा जोड्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्न सक्ने देखिन्छ।

संरक्षणसँगै प्रचारप्रसार आवश्यक

तेह्रकुने दहको सम्भावना ठूलो भए पनि यसको जानकारी अझै सीमित क्षेत्रमा मात्र पुगेको छ। स्थानीय तहले संरक्षण र पूर्वाधार निर्माणमा चासो देखाए पनि पर्यटकीय गन्तव्यका रूपमा व्यापक प्रचारप्रसार हुन नसकेको स्थानीयको गुनासो छ।परिवर्तन गाउँपालिका–४ पाछाबाङका स्थानीय रामकुमार बुढामगरका अनुसार दहसम्म पुग्ने बाटोको मर्मत, दह क्षेत्रको संरक्षण र आवश्यक पूर्वाधार निर्माणमा सरकारी निकायले थप ध्यान दिन आवश्यक छ। स्थानीयको सक्रियतासँगै सरकारी लगानी बढाउन सके तेह्रकुने दहलाई जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने उहाँको भनाइ छ।

परिवर्तन गाउँपालिकाभित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रमध्ये तेह्रकुने दह सम्भावना बोकेको गन्तव्य हो। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र ऐतिहासिक महत्वलाई एकै ठाउँमा जोड्न सकिने भएकाले यसको व्यवस्थित विकास गर्न सके स्थानीयको आयआर्जनसँगै रोजगारीका अवसरसमेत सिर्जना हुन सक्छन्। अहिले तेह्रकुने दहलाई चाहिएको कुरा केवल घेरबार वा टहरा मात्र होइन, पहुँचयोग्य बाटो, व्यवस्थित पूर्वाधार, संरक्षण र प्रभावकारी प्रचारप्रसार हो। यी पक्षमा ध्यान दिन सके जंगलको बीचमा लुकेको यो सुन्दर दह रोल्पाको मात्र नभई लुम्बिनी प्रदेशकै नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय