चितवन- प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गरेका छन । आज चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै उनले स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार क्रियाशील रहेको बताएका हुन । प्रधानमन्त्री दाहालले संविधानअनुरुप निर्माण गरिनुपर्ने ऐनहरुको तर्जुमाका निमित्त नेपाल सरकारले गम्भीर पहल लिइरहेको पनि बताए ।
प्रधानमन्त्री दाहालले सरकारका प्रयासले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने विश्वास लिएको बताए । उनले देशभरका सबै अस्पतालमा १० प्रतिशत शैय्या गरिव,विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरुमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबिरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिरहेको पनि जानकारी दिए । स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरुका लागि अनुदानको व्यवस्था, लगायत महत्वपूर्ण निर्णय भइ कार्यान्वयनमा आएको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले सरकारको बजेट निर्माणको प्रक्रिया नयाँ शिराबाट अघि बढाइएको पनि जानकारी दिए ।






