काठमाडौं । डेंगु संक्रमणका बिरामी घट्न थालेपछि सरकार बल्ल यसको नियन्त्रण अभियानमा सक्रिय देखिएको छ । यो वर्षमात्रै डेंगुबाट ८ जनाको मृत्यु भइसकेको छ भने २२ हजारभन्दा बढीमा संक्रमण भए । तर चिसो याम सुरु भएर डेंगुको प्रभाव कम हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदीप पौडेल डेंगुबारे जनचेतना बाँड्न सक्रिय देखिनुभएको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको यो आग्रह चाँहि ‘पोहोर दाइले कुट्यो, अहिले मलाई दुख्यो’ जस्तो देखिएको छ । चिसो बढेर लामखुट्टे हराउन थालेपछि, अस्पतालमा डेंगुका बिरामी घट्न थालेपछि बल्ल मन्त्री पौडेल डेंगु संक्रमण गराउने एडिस जातको लामखुट्टेको लार्भा र प्यूपा नष्ट गर्ने अभियानमा लाग्नुभएको छ । स्वास्थ्यमन्त्री पौडेलको फेसबुक पेजमा राखिएको डेंगु निन्त्रणका लागि १० मिनेट अभियानको यो भिडियो सन्देशमा लामखुट्टे नष्ट गर्ने अभियानलाई जोड दिइएको छ ।



मन्त्री पौडेलले मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले समेत लामखुट्टेको लार्भा खोज र नष्ट अभियानका लागि भिडियो सन्देश मार्फत् आग्रह गर्नुभएको छ । अक्टोबर महिनामा २ हजार ४९ जनामा मात्रै डेंगु संक्रमण देखिएको छ । गत वर्ष यही समयमा समयमा १२ हजार ६ सय ९९ जनामा डेंगु संक्रमण भेटिएको थियो । गत वर्षकै नै नोभेम्बर महिनामा डेंगु संक्रमण १२ हजारबाट सिधै २ हजार ८ सय ५ मा झरेको थियो । अनि डिसेम्बर महिनामा डेंगु संक्रमण ५ सय जनामा झरेको थियो । गत वर्षको यही सिजनमा डेंगुको संक्रमण तीव्र गतिमा ओरालो लागेको थियो । यो डेंगु आफै नियन्त्रण हुने सिजन सुरु भएपछि मात्रै सरकारले डेंगुबारे बल्ल जनचेतना बाँड्न खोजेको छ ।
यो वर्षको सेप्टेम्बर महिनामा ८ हजार ६ सय ६५ जनामा डेंगु संक्रमण देखियो त्यसअघि अगष्ट महिनामा ४ हजार २ सय ६८ जनामा संक्रमण देखिएको थियो । त्यतिबेला प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले डेंगु संक्रमणबारे कुनै जानकारी पाएनन् वा कसैले सुझाव दिएन, यस्तो सन्देश सार्वजनिक भएन । ८ जनाको मृत्यु भइसक्दासमेत सरकारले उहाँहरुले केही बोल्नुभएन । जब गत वर्षको तथ्यांक हेर्दा नोभेम्बर, डिसेम्बर महिना हुँदै डेंगु संक्रमण मत्थर हुँदै जान्छ । अनि यस्तो समयमा मन्त्रीदेखि प्रधानमन्त्रीसमेतले बेमौसमी बाजा बजाउनु भएको छ । खासमा उहाँहरुको यो कदम डेंगुको चिन्ताले हो कि, चर्चाका लागि हो कुन्नि ?



