बढुवा प्रक्रियाको माग राख्दै दुई महिना अगाडिदेखि आन्दोलनरत बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका शिक्षक तथा चिकित्सक सहमति पश्चात काममा फर्किएका छन् । प्रतिष्ठानको गेष्ट हाउसमा पदाधिकारी र आन्दोलनरत पक्षबीच भएको वार्तामा तीन बुदे सहमति भएको थियो । सहमति भएसँगै उनीहरु आजैबाट काममा फर्किएका हुन् ।
प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानले वार्ता सकारात्मक रुपमा सफल भएको बताइन । उनले आन्दोलनरत पक्षसँग तीन बुदे सहमति भएपछि आजबाट आन्दोलनरत शिक्षक तथा चिकित्सक काममा फर्किएको बताईन ।शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले हिजोबाट चलेको वार्ता आज आएर सहमतिमा टुंगिएको बताए । पुष २ गतेदेखि १५ गतेसम्म बाँकी रहेको अन्तर्वार्ता सुचारु गर्ने र अन्तर्वार्ता सकिएको एक महिनामित्र बीपीको सञ्चालन समिति (सिनेट)को बैठक बसी त्यसको नतिजा निकाल्ने सहमति भएको बताए। उनले सहमतिपश्चात आजैबाट काममा फर्किएको बताए ।



बढुवाको प्रक्रियालाई सुचारु गर्ने विषयमा प्रतिष्ठानबाट शुरु गरेको उनीहरुको आन्दोलन केन्द्रैसम्म पुगेको थियो । आफूहरुको माग पूरा नगरुन्जेलसम्म काममा नफर्किने अडान लिएका १ सय ७७ जना चिकित्सक तथा शिक्षकहरुले स्वास्थ्यमन्त्री तथा प्रधानमन्त्रीलाई संयुक्त राजीनामा दिएका थिए । उनीहरुको आन्दोलनका कारण विरामी तथा शैक्षिक गतिविधि नै प्रभावित बनेको थियो । सहमति पश्चात बीपीको कामबारबाही सहजतर्फ उन्मुख भए पनि भविष्यमा सहमति कार्यान्वयनमा दुवै पक्ष गम्भीर नभए पुन ः आन्दोलन चर्किने छ । यसतर्फ प्रतिष्ठानका पदाधिकारी गम्भिर भएर आन्दोलन नहुने वातावरण मिलाउन जरुरी छ ।



