काठमाडौं । झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भू–भाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो ।

राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ । राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सीमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए भन्ने भनाइ छ ।

समुद्री सतहको करिब ३ हजार मिटरभन्दा माथि उचाइको भिरालो स्थान चाखोपानी खोलाको भिरको थुम्कोमा सीमाना कुर्न बस्ती बसालेको चिमाङ गाउँका अगुवा इन्द्रप्रसाद थकाली बताउनुहुन्छ । सुरुआती चरणमा यहाँ सीमाना रक्षाका लागि ठिनी गाउँबाट ध्याकल फोपे समूहलाई बस्ती बसालेर स्थानान्तरण गरेको अगुवा उहाँको भनाइ छ । त्यस समय यहाँ बस्ती बसालेर सिमाना रक्षाका खटिएका समूहलाई दुःख, बिरामी हुँदा झारफुक गर्ने र दैवी तथा प्राकृतिक प्रकोपबाट मुक्त गराउन पूजापाठका लागि ठिनीका राजाले त्यहीका झाँक्री फोपे समूहलाई पनि चिमाङ गाउँमै स्थानान्तरण गरेका अगुवा थकालीको भनाइ छ । त्यसपछि यहाँ ठिनीका राजाको सीमाना कुर्न ध्याकल र झाँक्री फोपेको संयुक्त बस्ती बसेको बताइन्छ ।

यहाँको चिमाङ गाउँ राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकबाट कालीगण्डकीपारि अग्लो स्थानमा अवस्थित रहेको कृषि गाउँका रूपमा परिचित छ । यहाँ सुरुआती चरणमा ३५ घरपरिवारको बसोबास रहेकामा पछिल्लो समय यो बस्ती मिश्रित बस्तीका रूपमा परिणत भएको छ । सीमारक्षाका लागि त्यस समय बसेको चिमाङ बस्तीका एकतिहाइ घरपरिवारले बस्ती छाडि वैकल्पिक व्यापार व्यवसाय र रोजगारीका लागि पोखरा–काठमाडौंलगायत सहरमा पलायन भएका छन् ।

त्यसो त यहाँको पुरानो बस्ती चिमाङमा स्थानीय घरपरिवारले बस्ती त्यागे पनि रुकुम, धादिङ र म्याग्दीबाट मानिस यहाँ आएर बस्न थालेका छन् । यहाँ स्थानीय दलित समुदायको पनि करिब पाँच–छ घर रहेको छ । तीन गाउँले थकाली समुदायका रूपमा यहाँको घरपझोङ गाउँपालिकाको ठिनी, स्याङ र चिमाङ गाउँ रहेका छन् ।

यहाँको चोखोपानी खोला नजिकै भिरालो पाखोमा बसेको चिमाङ गाउँमा परम्परागत पुराना सांस्कृतिक घरहरूको बनावट निकै लोभलाग्दो र आकर्षक देखिन्छन् । निलगिरि हिमालको फेदैमा अवस्थित घना जङ्गलको मुनि चिमाङ गाउँ अवस्थित छ । यो गाउँ थकाली समुदायको सांस्कृतिक गाउँका रूपमा समेत परिचित छ ।

भौगोलिक जटिलता भएको स्थानमा त्यस समय ठिनीका राजाले बस्ती बसालेका भए पनि त्यहाँ बसोबास गर्र्नेहरूको दैनिकी निकै कष्टकर नै थियो । नागरिकको आधारभूत सेवा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र प्रशासनिकलगायतका सेवा निकै असहज थियो । गाउँसम्म पुग्ने सडक, सञ्चार, विद्युत् र कालीगण्डकी नदीमा पुल नहुँदा यहाँका नागरिक विभिन्न प्रकार सास्ती भोग्न बाध्य थिए ।

पछिल्लो समय यस गाउँको स्वरूपमा पहिलेको भन्दा निकै परिवर्तन आइसकेको छ । गाउँमा आधारभूत तह (१–५) सम्मको शिक्षा उपलब्ध गराउन विद्यालय खुल्यो । तर यहाँ बस्ती विस्थापित हुने क्रम, जन्मदर घट्दो हुनु र केही हुनेखानेले सुगम विद्यालयमा पढाउनेलगायत कारण यहाँका विद्यालयमा विद्यार्थी सङ्ख्या निकै कम छ । त्यसैगरी, यहाँको चिमाङ गाउँमा स्थानीय नागरिकको स्वास्थ्य सेवाका लागि आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ । गाउँमा विद्युत्, सञ्चार, सडकलगायत सेवाको पहुँच विस्तार भएकाले चिमाङमा सम्भावना ढोका खुलेको छ । कालीगण्डकी नदीमा पक्की पुल बनेको र गाउँसम्म जाने कच्ची सडक विस्तार भएकाले गाउँसम्म मोटर पुग्न थालेको छ ।

प्राचीन बस्ती चिमाङ पर्यटकीय गन्तव्यका रूपमा पनि निकै सम्भावना बोकेको गाउँका रूपमा लिने गरिएको छ । चिमाङ गाउँबाट धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, मानापाथी हिमाल र निलगिरि हिमाल निकै मनमोहक र आकर्षक देखिन्छ । त्यसैगरी यहाँबाट कालीगण्डकी करिडोर, स्याउ बगानदेखि स्याङ, मार्फा, छैरो, टुकुचे, कोवाङ र नाउरीकोटलगायत आधा दर्जन गाउँ सुन्दर देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय