दाङमा टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका आफन्तले न्याय नपाएको भन्दै घोराहिको तुलसीपुर चौकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दोलनमा उत्रिएका छन् । प्युठानको झिमरुक गाउँपालिका ४ बाङ्गेका वर्ष १८ का विशाल जिसी र नौबहिनी गाउँपालिका लुङका १८ वर्षका सागर केसी सवार रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई रा १ क १३०७ नम्बरको टिपरले ठक्कर दिएपछि ज्यान गएको थियो। मृत्यु भएपछि पीडित परिवारले पाउनुपर्ने उचित क्षतिपूर्ति, काजकिरिया खर्च तथा नयाँ मोटरसाईकिल पाउनुपर्ने मागलाई सम्बन्धित पक्षले बेवास्ता गरेपछि आफुहरु बाध्य भई सडक संघर्षमा उत्रिएको संघर्ष समिति संयोजक एवम् झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए ।

उनले टिपर व्यवसायी र पीडित पक्षबीच शनिबार दिनभर भएको वार्तामा टिपर व्यवसायी समितिले अवहेलना गर्दै पाँच–पाँच लाख बिमा वापतको रकम र किरिया खर्च बापत पचास हजार रुपैयाँ मात्रै दिने भनेपछि पिडित परिवार अन्यायमा परेको बताए ।’मामा भान्जाहरु एकै चिहान भएका छन् । मरेर जानेहरु फर्किन सक्दैन् । परिवारमा पीडा परेको छ । शनिबार दिनभर बार्ताको नाममा आफुहरुलाई न्याय दिनुको साटो बेवास्ता गर्दै लास लैजानुस्, बिमा र किरिया खर्च पचास हजार दिन्छौं भनेर थप चित्त दुखाउने काम गरेको उनले बताए ।मृतकका दाजु राजेश जिसीले क्षतिपूर्ति बापत १०–१० लाख पाउनुपर्ने, किरिया खर्च पचास– पचास हजार पाउनुपर्ने, नयाँ मोटरसाईकल पाउनुपर्ने, मृतकका नाममा स्मारक बनाउनुपर्ने तथा शवलाई प्युठान पुर्याई दिनुपर्ने आफुहरुको माग रहेको बताए ।

तुलसीपुरबाट घोराही जाँदै गरेको टिपरले दुई युवक सवार मोटरसाईकललाई घोराही १० झारबैरा चोकमा शुक्रबार राति १० बजेतिर ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक रोल्पा रुन्टीगढी ९ का वर्ष २६ का ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय