काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले रोक्का गरेको विभिन्न मन्त्रालयको विकास बजेट पछिल्लो समय धमाधम फुकुवा गर्न थालेको छ । सरकारले १ खर्ब २० अर्ब निर्वाचन र पुनर्निर्माणका लागि भन्दै रोक्का गरेको थियो । निर्वाचनका लागि आवश्यक १९ अर्ब रुपैयाँ निकासा गरेको बाँकी रकम क्रमशः निकासा गर्न थालेको हो । अझै पनि ६० अर्बभन्दा बढी बजेट फुकुवा नगर्दा विकास निर्माण नै प्रभावित बनेको छ ।



सरकारले असोजदेखि करिब दर्जन विकासे मन्त्रालयका १ खर्ब १४ अर्ब रुपैयाँ विकास बजेट रोक्का गरेको थियो । निर्वाचन र पुनर्निर्माणका लागि आवश्यक स्रोतको जोहोका लागि भन्दै बजेट रोक्का गरेको हो । तर निर्वाचनका लागि सरकारले १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरिसकेको छ । त्यसमा गृह मन्त्रालयलाई १० अर्ब ३८ करोड रुपैयाँ, रक्षा मन्त्रालयका लागि १ अर्ब ९९ करोड रुपैयाँ र निर्वाचन आयोगलाई ६ अर्ब ७२ निकासा गरेको छ ।
सरकारले निर्वाचनका लागि करिब २५ अर्ब रुपैयाँ खर्च हुने अनुमान सहित बाँकी रकमको स्रोत सुनिश्चत गरेर बाँकी बजेट फुकुवा गर्न थालेको छ । अहिलेसम्म १० मन्त्रालयको ४३ अर्ब रुपैयाँ बजेट फुकुवा भइसकेको छ । यसरी बजेट रोक्दा शहरी विकास मन्त्रालयका मात्रै १ हजार वटा आयोजना प्रभावित भएका थिए ।
अर्थले सबैभन्दा धेरै शहरी विकास मन्त्रालयको ६१ अर्ब रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २० अर्ब रुपैयाँ र उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको १७ अर्ब रुपैयाँ बजेट रोक्का गरेको थियो । त्यसमध्ये अहिलेसम्म शहरी विकासको १९ अर्ब ९२ करोड रुपैयाँ, भौतिक पूर्वाधारको १२ अर्ब ७८ करोड रुपैयाँ र उर्जा, जलस्रोत तथा सिंचाईको ३ अर्ब ३१ करोड रुपैयाँ मात्रै निकासा भएको छ । यस्तै खानेपानी मन्त्रालयको ५ अर्ब रुपैयाँ, पर्यटन मन्त्रालयको २१ करोढ, युवा तथा खेलकुदको ३६ करोड, वन तथा वातावरण मन्त्रालयको १८ करोड र संचार तथा सूचना प्रविधि मन्त्रालयको २९ करोड रुपैयाँ बजेट फुकुवा गरेको छ । तर साढे ४ महिनासम्म सरकारले हचुवाको भरमा बजेट रोकेको देखिएको छ । यसले साना मात्र होइन ठूला बहुबर्षीय आयोजनाको समेत समय लम्बिने छ ।
यसमा सरकारको दुरदर्शिता नदेखिएको आरोप समेत छ । हजारौं आयोजनाको बजेट रोक्का गर्दा यो वर्षको ७ महिनामा देशको विकास निर्माणको काम नै प्रभावित बनेको छ । यसले पूँजी परिचालनमा समेत असर पारेको छ । अर्थतन्त्रका जानकारहरुले सरकारको यो निर्णय ठिक नभएको टिप्पणी गरेका छन् ।



