सन् २०२४ को पहिलो उल्का वर्षा आज राती हुने भएको छ । ती उल्का वर्षाको स्रोत बुटिज अर्थात ‘भूतप’ नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई ‘भूतप उल्का’ वर्षा नाम दिइएको छ । भूतप उल्का वर्षा स्थानीय समयअनुसार पुस १९ गते दिउँसैदेखि अत्याधिक मात्रामा सक्रिय भए पनि राति साढे एघार बजेदेखि बजेदेखि भोलि बिहान पुस २० गतेको सूर्योदयभन्दा अगाडि हेर्न सकिनेछ नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोले जनाएको छ ।
अत्याधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्ने नासोको भनाइ छ । अत्यधिक उल्का वर्षाको समयमा प्रति घण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ । ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमिमाथि वायुमण्डलमा देखिने छन् ।



पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भन्ने गरिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको वा तारा पोइल गएको पनि भनिन्छ ।



