स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब आठ जटिल रोगमा दोब्बर उपचार सहायता प्राप्त गर्ने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक लाख रुपैयाँ उपचार सुविधा पाइरहेका बिरामीलाई थप एक लाख थप गरी कुल दुई लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध गराउने निर्णय गरिएको बताउनुभएको हो । यो सुविधा साउन १ गतेदेखि लागू हुने छ। मन्त्री पौडेलका अनुसार क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीलाई यो व्यवस्था लागू हुनेछ।

स्वास्थ्य बीमा बोर्डको मंगलबार राति बसेको बैठकले यो निर्णय पारित गरेको थियो । यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमाको पहुँच विस्तार गर्न बीमा सेवा घरदैलोमै पुर्‍याउने, हरेक तहका स्वास्थ्य संस्थाबाट सुविधा लिन सक्ने व्यवस्था गर्नेसमेत नीति लिनुभएको थियो । मन्त्री पौडेलले स्वास्थ्य बीमा कोषको आयश्रोत बढाउन विभिन्न नीति र कार्यक्रम अघि सार्नुभएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार सबै सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई बीमामा आबद्ध गराइनेछ। वैदेशिक रोजगारमा गएका र उनीहरूका परिवारलाई पनि बीमामा समेट्ने तयारी भइरहेको छ। यसका साथै संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत बीमा कोषमा पठाउने निर्णय गरिसकिएको छ। बीमा बोर्डको बक्यौता शून्यमा झार्ने घोषणा नयाँ बजेटमार्फत भइसकेको छ। प्रगतिशील करमार्फत कोषमा रकम प्रवाह गर्ने योजना पनि अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय