नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले ०८२ सालबाट अहिलेको पार्टी नेतृत्व बिदा हुने बताएका छन् । शनिवार झापाको धुलाबारीमा आयोजित मेचीनगर नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले आगामी महाधिवेशनबाट अहिलेको पार्टी नेतृत्व विदा हुने दाबी गरेका हुन् । उनले पार्टीमा केही समस्या र अफ्ट्यारा रहेको भन्दै पुनर्जागरण जरुरी भएको औंल्याए ।
महामन्त्री थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको भन्दै बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताए । कम्युनिस्टले समाजको विश्वास कहिल्यै नगर्ने उल्लेख गरेका महामन्त्री थापाले नेपाली समाजले गुमाएको आत्मविश्वासलाई जगाएर काङ्ग्रेसले देश बदल्ने विश्वास दिलाए । काङ्ग्रेससँग युवा र तन्नेरी पुस्ता रिसाएको भन्दै तन्नेरी पुस्तालाई भेटेर फकाउन नेता कार्यकर्तालाई आग्रह समेत गरे ।






