मुगु- मुगुको गमगढी–नाक्चेलाग्ना सडकखण्डअन्तर्गत छायाँनाथ रारा नगरपालिका–१ स्थित अल्का साँघु मोटरेबल पुल १८ महिनापछि सञ्चालनमा आएको छ। निर्माण सम्पन्न भएर पनि जग्गा मुआब्जा विवादका कारण प्रयोगविहीन रहेको पुल विवाद समाधान भएपछि सञ्चालनमा आएको हो। डिभिजन सडक कार्यालय जुम्लाले करिब ८ करोड रुपैयाँ लागतमा निर्माण गरेको पुल जग्गाधनी धनबहादुर मल्लले पहुँचमार्गको जग्गाको मुआब्जा नपाएको भन्दै अवरोध गरेपछि सञ्चालन हुन सकेको थिएन।
छायाँनाथ रारा नगरपालिकाको पहलमा मुआब्जा व्यवस्थापन भएपछि विवाद समाधान भएको हो। सहमतिपछि नगर प्रमुख विष्णुकुमार भामको नेतृत्वमा पुल जोड्ने सडकमा थुप्रिएको पहिरो, ढुंगा र माटो हटाई बुधबारदेखि सवारी सञ्चालन गरिएको छ।



पुल सञ्चालनमा आएपछि छायाँनाथ रारा नगरपालिका–१०, ११ र १२ तथा मुगुम कार्मारोङ गाउँपालिकाका हजारौँ स्थानीयलाई आवतजावतमा सहज भएको छ। अब खाद्यान्न, औषधि, निर्माण सामग्री ढुवानीसँगै बिरामी ओसारपसार र सरकारी सेवा प्रवाहमा समेत सहज हुने अपेक्षा गरिएको छ। लामो समय जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य स्थानीयले पुल सञ्चालनपछि वर्षायामको समस्या अन्त्य भएको भन्दै खुसी व्यक्त गरेका छन्।



