काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् ।
४२ हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएका हुन । भेरी नगरपालिकाका चार हजार छ सय ४२ ले पहिलो किस्ताको रकम पाएका छन् । भेरी नगरपालिकामा जम्मा पीडित छ हजार छ सय ३४ छन । नलगाड नगरपालिकाका जम्मा आठ हजार ९७ जना पीडितमध्ये सात हजार एक सय ५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेका छन । छेडागाडमा आठ हजार दुई सय पाँचमध्ये दुई हजार एक सय ८८ जनाले मात्र रकम पाएका छन ।बारेकोटमा पाँच हजार पाँच सय ८६ मध्ये चार हजार छ सय ८७ जनाले पहिलो किस्तावापतको रकम पाएका छन् । कुशे गाउँपालिकाका पाँच हजार दुई सय ८७ परिवारमध्ये चार हजार एक सय ५४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् । त्यस्तै जुनिचाँदे गाउँपालिकामा पाँच हजार चार सय छमध्ये एक हजार एक सय १३ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको छ ।



शिवालय गाउँपालिकामा तीन हजार तीन सय नौ जनामध्ये तीन हजार एक सय ४७ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको छ । हालसम्म जुनिचाँदे गाउँपालिकामा कुनै पनि अस्थायी आवास निर्माण गरिएको छैन । भुकम्प प्रभाबित दश हजार एक सय ५९ परिवार मात्र अहिलेसम्म अस्थायी टहरा निर्माण गरेर बसेका छन । हालसम्म ३२ हजार तीन सय ६५ परिवार अझै त्रिपालमा बसिरहेका छन् ।



