काठमाडौं । राइनास नगरपालिका–५, तिनपिप्लेमा अवस्थित श्री शिशु विद्या आश्रम माध्यमिक विद्यालयको ७०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङले विद्यालयले विगत ७ दशकदेखि निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै समाजमा दक्ष र अनुशासित जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन तथा व्यवहारिक शिक्षामा विद्यालयले पु¥याएको योगदानको खुलेरै प्रशंसा गर्नुभयो ।



यस्तै विद्यालयका प्रधानाध्यापक नानुमाया पराजुलीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा शैक्षिक पूर्वाधार सुदृढीकरण, प्रविधिमैत्री शिक्षाको विस्तार तथा अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्नुभयो । उहाँले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुका साथै विद्यालय–अभिभावक सम्बन्धलाई थप सुदृढ बनाउँदै गुणस्तरीय शिक्षाका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, गीत, नाटक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । जसले उपस्थित दर्शकहरूको मन जितेको थियो । यस अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयका सहयोगी व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार वितरणसमेत गरिएको थियो ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व, गण्डकी क्षेत्रका लोक दोहोरी कलाकारहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।



