

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरु पनि पूर्वशर्त बमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताएका छन । शुक्रबार काठमाडौंमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा उनले विभिन्न बाहानाबाजी गरेर चिकित्सकहरु सुविधासम्पन्न ठाउँमा बसिरहने प्रवृत्ति रहेको बताएका हुन ।
मेडिकल बोर्डले समेत सम्बन्धित चिकित्सकहरुलाई बिरामी भएको प्रमाणित गरिदिने गरेको भन्दै मन्त्री बस्नेतले अहिले सरकारले त्यसरी मेडिकल बोर्डले दिने प्रमाणपत्रलाई बन्द गरेको बताए । त्यसैगरी डाक्टरले दिने प्रस्किप्सनको समेत अडिट हुने गरेको उनको दाबी छ ।






मन्त्री बस्नेतले केही दिन अघि कान्ति बाल अस्पतालमा आकस्मिक उपचार नपाएर एक बालिकाको मृत्यु भएको प्रकरणमा सम्बन्धित स्वास्थ्यकर्मीको कमी, कमजोरी भएको भन्दै कारबाही प्रक्रिया अगाडी बढेको जानकारी दिए । उनले आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि १६ वर्षदेखि मन्त्रालयमा अल्झिएर बसेका विभिन्न रणनीतिहरु पास गरेको पनि दाबी गरे । उनले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताए । स्वास्थ्य र शिक्षाको प्रगति र व्यवस्थापन बिना राष्ट्रको विकास सम्भव नहुने मन्त्री बस्नेतको भनाइ छ ।