

विश्वमै मानिसले सबैभन्दा बढी सोच्ने विषय नै ‘यौन’ हो । यसकारण व्रत बसेको समयमा वा व्रत तोडेको रात सहवास गर्न हुन्छ कि हुँदैन भन्ने जिज्ञासा उठ्नु स्वाभाविक नै हो । व्रत बसेका बेला यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन भन्ने प्रश्न धेरैको मनमा उब्जिने गरेको पाइन्छ ।
यौनका विषयमा धर्मशास्त्र, नीतिशास्त्रले एकाथरी ब्याख्या गरेको छ भने विज्ञान, चिकित्साशास्त्रले फरक तर्क गरेको छ । धर्मशास्त्रले जुनसुकै समयमा यौनसम्पर्क राख्न अनुमति दिँदैन । यौनमा सदाचारसहित संयमलाई शास्त्रले जोड दिएको छ । शास्त्रले विवाहेत्तर यौनसम्बन्धलाई पाप मानेर वर्जित नै गरेको छ । व्रतका बेलामा यौनसम्पर्क राख्न त के सोच्नै नहुने उल्लेख छ शास्त्रमा ।







यौनमा संयमी व्यक्ति मेधाशक्तिले युक्त हुन्छ । पुरुषको वीर्य शक्तिको परिचायक हो, तसर्थ यसलाई जथाभावी खेर फाल्नु हुँदैन । त्यसैले व्रतका बेला ब्रह्मचर्यमा बस्न शास्त्रले आदेश गर्छ । तीजजस्ता व्रतका बेला यौन सम्पर्क राख्न वर्जित नै गरेको छ । यद्यपि सनातन धर्मका कतिपय सन्दर्भमा यौन पवित्र एवं प्रजननको आधार भएकाले शुद्ध र सात्विक अवस्थामा प्रसन्न चित्तले निश्चित उद्देश्यपूर्तिका लागि यौनसम्बन्ध राख्नुपर्ने बताइएको छ । धर्मशास्त्र र परम्पराअनुसार हरितालिका तीजमा व्रत बसेका महिलाले पतिसँग सहवास गर्दैनन् र उनीहरू त्यस दिन पतिसँग सुत्दैनन् पनि । व्रत बसेका बेलाको मनोदशा पनि फरक हुन्छ । त्यति बेला सामान्य मानिसमा यौनसम्पर्क राख्ने कुरा मनमा खासै पलाउँदैन पनि ।
व्रतोपवास भनेकै भोक र कामवासनालाई नियन्त्रण गरेर भगवानमा भक्ति लगाउनका लागि गरिने कुरा हो । त्यसैले व्रतका समयमा यौनसम्पर्क राख्दा व्रतको फल प्राप्त हुँदैन भन्ने शास्त्रीय मान्यता छ । दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि सहवासको कुरा सोच्न पनि नहुने शास्त्रले बताउँछ । व्रत बसेको दिन उनीहरू मानसिक रुपमा पनि तयार हुन नसक्ने र शारीरिक रूपले पनि निकै थकित हुने हुँदा सहवासका लागि बाध्य बनाउन नहुने परम्परागत मान्यता पाइन्छ । व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुती अलग्गै सुत्नुपर्ने शास्त्रीय मर्यादा समेत छ । शास्त्रअनुसार उपवासको अर्थ भगवानको समीपमा रहने भन्ने हो । दिनभर भगवानमा मन लागिसकेपछि सहवासको कुरा कसले पो सोच्छ र ? यस्तो आदर्श शास्त्रले कल्पेको छ ।
विज्ञानको मत
विज्ञानले भने यौनलाई भौतिक रूपमा व्याख्या गरेको छ । चिकित्साशास्त्रले व्रतका बेलाको यौन सम्पर्कका विषयमा धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन । यो शारीरिक अवस्थासँग सम्बद्ध जैविक प्रक्रिया भएको हुनाले शरीरले आवश्यक ठानेको जुनसुकै समयमा पनि यौनसम्पर्क गर्न सकिने विज्ञानको तर्क छ ।
आफ्नो शारीरिक र मानसिक अवस्था विचार गरी मन लागेको गर्न सकिने विज्ञानले बताउँछ । यद्यपि व्रत बसेका बेला शारीरिक र मानसिक रूपमा थकित हुने भएकाले त्यसमा भने विचार गर्नुपर्ने यौन विशेषज्ञहरूको तर्क छ । व्रतका कारण व्यक्तिको मनोदशा यौनका लागि तयार नहुनसक्छ । यस्तोे अवस्थामा भने विचार गरेर सहज वातावरण बनाई यौनसम्बन्ध राख्दा केही फरक नपर्ने विशेषज्ञ बताउँछन् ।
व्रत बसेका बेला शरीरमा पानी, ग्लुकोज आदिको स्तरमा फरक पर्ने र त्यसबाट क्यालोरीको मात्रा कम हुने हुन्छ । यौनसम्पर्क राख्दा धेरै क्यालोरी खर्च हुन्छ, त्यसैले थप कमजोर हुनसक्ने भएकाले सम्बन्ध राख्न नहुने पनि बताउँछन् विशेषज्ञहरू । यद्यपि कतिपयले भने व्रत बस्दा शरीर फुर्तिलो र मन चंगा हुने भएकाले यौनेच्छा बढ्ने र केही व्यक्तिको शारीरिक संरचना भोकै बस्दा अझ फुर्तिलो हुने खालको हुने भएकाले सम्बन्ध राख्दा फरक नपर्ने पनि तर्क राखेका छन् ।
समग्रमा भन्दा धार्मिक एवं मानसिक हिसाबले यौनसम्बन्ध राख्न तयार नहुने भएकाले व्रत बसेका बेला यौनसम्पर्क नराख्नु उचित हुन्छ । यौन सम्पर्कका बेला थोरै भए पनि शारीरिक ऊर्जा क्षय हुने भएकाले केही नखाई बस्ने तीज व्रतका बेला महिलाले कमजोरी महसुस गर्छन् । फेरि व्रतसँग सामाजिक सीमा, मर्यादा र नैतिक मूल्य–मान्यता गाँसिने भएकाले यो बेला यौन आनन्दभन्दा यसपछि आत्मग्लानि वा पश्चात्तापको अनुभूति हुन सक्ने भएकाले यौनसम्बन्ध नराख्नु नै राम्रो मानिन्छ ।