काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गर्नुभएको हो । जात्रा अवलोकन गर्न उपराष्ट्रपति, प्रधानन्यायधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत मन्त्री, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत पुगेका थिए ।
राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाइ यात्रा गराउने अनुमति दिएपछि रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मंगलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ ।



असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसैदिन बेलुका राष्ट्रपति पौडेल हनुमानढोका दरबार गई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्ने र राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।
असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वजपतन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समापन हुनेछ ।



