नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । सर्वसाधारणले सोमकार असोज २९ गतेदेखि ५ दिनसम्म सटही सुविधा पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने भएको छ । काठमाण्डौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटहीको सुविधा लिन सक्ने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जानकारी दिए ।
गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ । पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक एक बन्डलका दरले सर्वसाधारणलाई नयाँ नोट सटही उपलब्ध गराइने भएको हो । राष्ट्र बैंकको कार्यालयबाट नोट सटही गर्दा क्यूआर स्क्यान गरेर पनि भुक्तानी गर्न पाइनेछ ।



नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार काठमाण्डौं उपत्यकाभित्रको हकमा असोज २९ देखि नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटार तथा केन्द्रीय बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालय मार्फत समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।



