

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा यो दिवस मनाइने गरिन्छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान धन्वन्तरीको उत्पत्ति भएको चर्चा हिन्दु ग्रन्थमा गरिएको छ ।
आजको दिनलाई आयुर्वेदका डाक्टरहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाण्डौ नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। विसं २०२९ देखि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रुपमा आयुर्वेद क्याम्पस सञ्चालनमा रहेको छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रुपमा पनि मनाउन थालिएको हो ।





