निर्माण कम्पनीले समयमै काम नसक्दा पर्वतको मालढुंगा बेनी सडक स्तरोन्नतीको काम रोकिएको छ । सामाग्रीको अभाव देखाउँदै निर्माण कम्पनीले काम रोक्दा व्यपारी , यात्रुहरुले सास्ती भोग्नुपरेको छ भने चालकहरुले पनि जोखिमपूर्ण सवारी चलाउनु परेको छ ।



राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनामा पर्ने पर्वतको मालढुंगा बेनी सडक स्तरोन्नतिको काम ठप्प भएको छ । सम्झौता अवधि नाघिसक्दा समेत जम्मा ४२ प्रतिशत मात्र प्रगति भएको उक्त सडक खण्ड निर्माण सामाग्रीको अभाव देखाउँदै निर्माण ब्यवसायीले सडक ठप्प पारेका हुन् । समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारीसाधन र यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । आसपासका व्यापारीहरु समेत धुलो र धुँवाका कारण मारमा छन् ।
आयोजना निर्माणमा भएको लापरवाहीले दैनिक यात्रा गर्दा सास्ती खेप्नु परेको यात्रुहरुको भनाइ । निर्माण कम्पनी र सरकारी निकायको समन्वय नहुँदा त्यसको मार आफुहरुले भोग्नु परिरहेको यात्रुहरु बताउँछन् ।सडकको धेरै क्षेत्र जलजला गाउँपालिकाका विभिन्न वडामा पर्ने हुँदा आँफुहरु सडक निर्माण गराउन लागि परिहेको स्थानीय तहले जनाएको छ । निर्माण सामाग्री अभावले पनि समस्या भएको छ । तर आफुहरुले यसको समन्वयका लागि पहल गरिरहेको गाउँपालिकाको भनाइ छ ।
१३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएपनि अहिलेसम्म आधा काम पनि भएको छैन ।



