पाल्पाको निस्दीमा स्थानीय उत्पादनको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा आएको छ । निस्दी गाउँपालिका भित्र उत्पादन हुने कृषि उपजको प्रवद्र्धन र बजारीकरणका लागि निस्दी कासेली घर सञ्चालनमा ल्याएको हो । कोसेली घरको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उत्पादन भएका कृषि उपज विक्रीको सुनिश्चितता गर्दै अघि बढ्न सके कृषकहरुलाई प्रोत्साहन मिल्ने बताए ।
गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले कृषि उपजको बजारकरीणमा सहजता प्रदान गर्न कोसेली घर सञ्चालनमा ल्याएको बताए । वडा नं. ५ को समाजिक महिला उद्यमी सहकारी , वडा नं. २ को जलदेवी समाजिक महिला उद्यमी सहकारी र वडा नं. ४ को स्वावलम्बन समाजिक महिला उद्यमी सहकारी संग सहकार्य गरी गाउँपालिकाले रामपुर–५ बेझाँडमा कोसेली घर स्थापना गरेको हो ।



निस्दीका कृषकहरुका लागि नजिकको बजारको रुपमा रहेको बेझाँडमा सटर भाडामा लिएर कोसेली घर सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । निस्दीको ७ वटै वडामा उत्पादन हुने मौसमी तथा बेमौसमी अर्गानिक तरकारी, गेडागुडी, फलफूल, मह तथा घ्यू लगाएतका सामाग्री कोसेली घर बाट विक्री वितरण हुने बताइएको छ ।



